Kanakai Online

नेपालको पूवीैद्धार काँकरभिट्टा नाकाबाट निर्यात हुन थाल्यो सिमेन्ट, ३२ करोडको निर्यात


सोमवार, भदौ १०, २०८१ |

कनकाई अनलाईन

नेपालको पुवीैद्धार काँकरभिट्टा नाका भएर नेपाली सिमेन्ट भारत निर्यात हुन थालेको छ । नेपाली सिमेन्ट उद्योगले उत्पादन गरेका विभिन्न ब्राण्डका सिमेन्ट भारततर्फ निर्यात सुरू हुन थालेको हो ।

काँकरभिट्टा नाका हुँदै गत आर्थिक वर्ष २०८०÷०८१ मा ३२ करोड रुपैयाँ मूल्य बराबरको सिमेन्ट निर्यात भएको मेची भन्सार कार्यालय झापाले जनाएको छ । मेची भन्सार कार्यालय काँकरभिट्टा सूचना अधिकारी गणपति कँडेलका अनुसार यसअघि यो नाका भएर नेपाली सिमेन्टको निर्यात शून्य थियो । आर्थिक वर्ष २०८०÷०८१ मा ३२ करोड ६६ लाख पाँच हजार सात रुपैयाँ मूल्य बराबरको ४९ हजार नौ सय ५९ टन सिमेन्ट निर्यात भएको छ ।

नेपाली उत्पादित सिमेन्टको गुणस्तर राम्रो भएका कारण माग समेत सन्तोषजनक रहेको व्यवसायीहरुको भनाई छ । कुनै बेला नेपालले भारतबाटै कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था भएका कारण सिमेन्ट निर्यातले निरन्तरता पाउन नसकेको बताईएको छ । अहिले निर्यात बढ्नुको मुख्य कारण नेपालमै कच्चा पदार्थ प्राप्त भएकाले भएको व्यावसायीको भनाई छ । सरकारले सिमेन्ट निर्यात बढाउन आठ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको कारण समेत व्यावसायीहरु उत्साहित भएको बताइएको छ ।

काँकरभिट्टा नाका भएर करोडौंको सिमेन्ट निर्यात भए पनि झापामा उत्पादन भएको सिमेन्टले आन्तरिक बजार मात्र धानेको छ । ‘स्थानीय उद्योगको उत्पादनले स्थानीय बजार धानेको छ । हाल झापाका थुप्रै सिमेन्ट उद्योगहरु बन्द अवस्थामा रहेको सञ्चालकको भनाई छ । ’ कुनै बेला झापामा एक दर्जनबढी सिमेन्ट उद्योग भएपनि अहिले कञ्चनजंघा, मेघा, मनसा, गोर्खाली र सेन्चुरी सिमेन्टमात्र उत्पादनमा रहेका छन । नेपाली सिमेन्टको गुणस्तर स्थापित हुन थालेको, निर्यातमा पनि सहज वातावरण बन्दै गएको, भारतमा नेपाली ब्रान्ड स्थापित भएपनि झापामा उत्पादित सिमेन्ट विदेश पठाउन नसकेको व्यवसायीहरुको भनाई छ । स्थानीय उद्योगले स्थानीय माग पुरा गरेको व्यावसायीको भनाई छ ।

भन्सार विभागका अनुसार नेपालबाट विभिन्न नाका भएर आर्थिक वर्ष ०७७÷७८ मा ८३ हजार रुपैयाँ बराबरको ११ टन सिमेन्ट निर्यात भएको थियो । आर्थिक वर्ष ०७८÷७९ मा १२ लाख ९३ हजार रुपैयाँ बराबरको १५ हजार १ सय ८९ टन , गत आर्थिक वर्ष २०८०÷८१ मा नेपालले तीन अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको छ । व्यवसायीहरुका अनुसार पछिल्ला वर्षमा पाल्पा सिमेन्टको तानसेन, अर्घाखाँची, बालाजी र सर्वोत्तम, सीजी सिमेन्ट भारतमा निर्यात हुन थालेका छन ।