कनकाई अनलाईन
झापा जिल्लामा अघिल्लो बर्षको तुलनामा सम्बन्ध विच्छेद गर्नेको संख्यामा कमि आएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष २०८०–०८१ मा सम्बन्ध विच्छेद गर्नेहरुको संख्यामा कमि आएको जिल्ला अदालत झापाले जनाएको छ । झापा जिल्ला अदालतको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०–०८१ मा सम्बन्ध विच्छेदका १२०१ वटा मुद्धा दर्ता भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ८९ वटाले कम हो ।
अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा १२९० वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका थिए । अदालतका स्रेस्तेदार किरणकुमार सिंहका अनुसार आर्थिक वर्ष २०७९–०८० मा अघिल्लो आर्थिक वर्षबाट सरीआएका ४९८ र नयाँ दर्ता भएका १२९० वटा गरी जम्मा १७०७ वटा मुद्धाको लगत रहेको थियो । त्यसमध्ये १३०६ वटाको फैसला भएको छ भने ४०१ वटाको फैसला हुन बाँकी रहेको थियो ।
त्यस्तै आर्थिक वर्ष २०८०–०८१ मा अघिल्लो वर्षबाट सरीआएका ४०१ र नयाँ दर्ता भएका १२०१ वटा गरी जम्मा १६०२ वटा मुद्धाको लगत रहेको थियो । त्यसमध्ये ११८० वटाको फैसला भएको छ भने ४२२ वटाको फैसला हुन बाँकी रहेको स्रेस्तेदार सिंहले जानकारी दिनुभयो । महिलाहरुले सम्बन्ध विच्छेद र अंशवण्डाको मुद्धाहरु संगै दिँदा कतिपय सम्बन्ध विच्छेदका मुद्धाहरु अंशवण्डामा गनिएको बताइएको छ । सम्बन्ध विच्छेदको मुद्धा दिनेमा अधिकांश महिलाहरु छन् । सम्बन्ध विच्छेदका १० वटा मुद्धालाई हेर्दा ८ वटा मुद्धा महिलाले दिने गरेको तथ्यांकले देखाएको जिल्ला अदालतको तथ्याङ्मा रहेको छ ।
फोटो ः जिल्ला अदालत झापा