Kanakai Online

राष्ट्रकवि घिमिरे सम्मानित


आइतवार, असोज २२, २०७४ |

कनकाई अनलाईन
बिर्तामोड, असोज २२ । साहित्य चौतारी झापाले एक कार्यक्रमकाबीच राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरेको छ ।
साहित्य चौतारी झापासँग सम्बन्धित झापाली साहित्यकारहरुको टोलीले काठमाडौं लैनचौरस्थित राष्ट्रकवि घिमिरेको निवास कविकुञ्जमा आयोजित कार्यक्रमकाबीच घिमिरेलाई शताब्दी पुरुष घोषणा गर्दै अभिनन्दन गरेको हो ।
राष्ट्रकवि घिमिरेको सत्जन्मोत्सव मनाउने क्रममा साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठ, अध्यक्ष टंक विकल्प, संस्थापक अध्यक्ष तथा सल्लाहकार शिवशंकर थापा, पूर्व अध्यक्ष केशव आचार्य, सल्लाहकार हस्त परियार, उपाध्यक्ष कृष्ण योञ्जन, सचिव राजेन्द्र संग्रौला, कोषाध्यक्ष कृष्ण सुवेदी निराकार, सदस्यहरु विनोद खनाल, भवानी गौतम, लवकुश गौतम, दिलीप घिमिरे, सम्मानित सदस्य हरि पौडेल, पुरस्कृत सदस्यहरु अभागी थेगुवा, विवश बलिभद्र कोइराला, हेमन्ता भण्डारी, खगिन्द्रा खुशी, विमला चिमरिया, साहित्यकार भवानी क्षेत्री, पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला लगायत झापाली साहित्यकारहरुको टोलीले अभिनन्दन गरेको हो ।
राष्ट्रकवि घिमिरेलाई अभिनन्दन पत्र, दोसल्ला, माला लगायतले अभिनन्दन गरिएको थियो । अभिनन्दन ग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रकवि घिमिरेले साहित्य चौतारी झापाले गरेको अभिनन्दनले आफ्नो जीवन पूर्ण भएको बताए । सरकारले साहित्यकारहरुलाई नसम्झिरहेको अवस्थामा साहित्य चौतारी झापाले काठमाडौंसम्म आएर गरेको अभिनन्दनले आफूलाई थप ऊर्जा मिलेको घिमिरेले बताउनुभयो ।
राष्ट्रकवि घिमिरेले टाढादेखि साथीहरु आएर पूर्णिमाको दिनमा यस्तो कार्यक्रम राखेकामा आफ्नो आँगन मंगल भएको र आफू रोमाञ्चित भएको बताए । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले घिमिरेका रचनाले राष्ट्रिय भावनाको आवाज बोकेको र यो उमेरमा पनि उनको सक्रियताले साहित्य क्षेत्रले गौरवबोध गरिरहेको बताए । उनले कविवरको शताब्दी जन्मोत्सवलाई वर्षभरि मनाउन विभिन्न कार्यक्रम गरिने जानकारी दिए ।
सोही कार्यक्रमकाबीच साहित्य चौतारी झापाको स्मारिकाको दोस्रो अंक लोकार्पण गरिएको थियो । स्मारिकाको लोकार्पण राष्ट्रकवि घिमिरेले गरेका थिए । स्मारिकाको समिक्षा प्रा.डा. बद्री विशाल भट्टराईले गरेका थिए । साहित्य चौतारी झापाका अध्यक्ष टंक विकल्पको अध्यक्षता तथा राष्ट्रकवि घिमिरेको प्रमुख आतिथ्य र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष शिवशंकर थापाले स्वागतसहित औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा राष्ट्रकवि घिमिरेद्वारा रचित गाउँछ गीत नेपाली… र आजै र राति के देखेँ सपना..समेत प्रस्तुत गरिएको थियो । त्यस्तै साहित्यकार खगेन्द्रा खुशीले गौरी शोककाव्य वाचन गरेकी थिइन् भने विवश बलिभद्र कोइरालाले गीत प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रमकाबीच झापाली साहित्यकारहरुको टोलीले राष्ट्रकवि घिमिरेबाट टीका ग्रहण गरी आशिर्वाद समेत लिएको थियो । कार्यक्रममा साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले संस्थाबारे बोलेका थिए । उनले २०५६ साल असार ३१ गते राष्ट्रकवि घिमिरेले साहित्य चौतारीको उद्घाटन गरेको बताउँदै साहित्य चौतारीको १८औं वार्षिकोत्सवको अवसरमा निकालिएको स्मारिका राष्ट्रकवि घिमिरेकै हातबाट विमोचन गरिएको बताए ।
आफ्ना मातापिता स्व. भीमबहादुर श्रेष्ठ, स्व. पञ्चकुमारी श्रेष्ठ तथा सासु आमा स्व. धनमाया विमलीको स्मृतिमा आफू र श्रीमती उर्मिला विमली श्रेष्ठले साहित्य, संस्कृति र कलाको प्रबद्र्धन गर्ने उद्देश्यले साहित्य चौतारीको स्थापना गरेको बताउँदै राष्ट्रकविको निवास कविकुञ्जमा राष्ट्रकविलाई अभिनन्दन गरी स्मारिका लोकार्पण गर्न पाउनु गौरवको अनुभूति भएको संरक्षक श्रेष्ठले बताए ।
कार्यक्रममा राष्ट्रकवि पत्नी महाकाली घिमिरे साहित्यकार रमेश खकुरेल, नितु दाहाल, डा. तारा घिमिरे, डा. कुलराज निरौला, डम्बर घिमिरे, भजन गायिका सिला पन्त, खोलाघरे साइँला, विकास न्यौपाने, एकराज अधिकारी, भरत संग्रौला, संरक्षकका छोरा गर्व श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो । साहित्य चौतारी झापाले गत असोज १७ गते काठमाडांैसम्मको साहित्यक सद्भावना यात्रा गरी राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गरेको हो ।
त्यस्तै संस्थाले काठमाडौंबाट फर्कने क्रममा विभिन्न स्थानमा साहित्यिक कार्यक्रम गरी बिर्तामोडमा समापन गरेको थियो । कार्यक्रममा संरक्षक देवीभक्त श्रेष्ठ, अध्यक्ष टंक विकल्प र संस्थापक अध्यक्ष शिवशंकर थापाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजेन्द्र संग्रौला र कोषाध्यक्ष कृष्ण सुवेदी निराकारले गरेका थिए ।
 

सम्बन्धित खबर