Kanakai Online

कांग्रेस सरकारमा नहुदा केहि फरक प्रदैन, महामन्त्री शर्मा


आइतवार, पौष १७, २०७९ |

कनकाई अनलाईन
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक घटनाक्रमले काँग्रेसलाई नवीनतम स्वरूपमा रूपान्तरण भएर देश र जनताको सेवाका लागि अवसर आएको बताउनुभएको छ ।


भद्रपुर १० स्थित चन्द्रगढीमा आयोजित वीपी स्मृति प्रतिष्ठानको साधारण सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम निर्वाचनमा पहिलो दल भएर पनि प्रतिपक्षमा बस्नु पर्ने अवस्था संगठन सुद्धिकरण तथा नेतृत्वमा नवीन सोचका साथ संगठन निर्माणका लागि अवसर भएको बताउँनुभयो ।
सरकारमा नगए पनि राष्ट्रको उन्नतिका लागि काम गर्न कांग्रेसलाई कसैले रोक्न नसक्ने शर्माको भनाई थियो । स्थानीय तह, प्रदेश र संघीय संसदमा निर्वाचित जनप्रतिनिधिहरूले देश र जनताको उन्नतिका लागि निरन्तर काम गर्न सक्ने समेत बताउँनुभयो । गठबन्धन टुट्नु नहुने थियो तर टुट्यो भन्दै अब नेपाली राजनीति बामपन्थी र गैरबामपन्थी विच दुई ध्रुवमा बाँढएको बताउँनुभयो ।
महामन्त्री शर्माले काँग्रेस रूपान्तरणको चरणमा रहेको भन्दै नेतृत्वले विगतका गल्ति अब नदोहोर्याउने वातावरण बनाएर गतिशील काँग्रेसका लागि निरन्तर लागिरहने संकल्प गर्नुपर्ने बताउँनुभयो । सत्ता स्वार्थमा राजनीति अल्झदा राष्ट्रियता कमजोर हुँदै गएको भन्दै कांग्रेसलाई विगतको गल्ती गर्ने छुट नभएको बताउँनुभयो । शर्माले सवै दल राष्ट्रहितका लागि राष्ट्रियताको सवालमा एक हुनु पर्नेमा जोड दिनुभयो । शर्माले छिमेकी नीतिमा समान धारणा लिएर अगाडि बढ्ने हो भने आन्तरिक राजनीतिकमा विदेशी चलखेल नहुने समेत बताउँनुभएको छ । दुई शक्तिशाली छिमेकी देशसित समान व्यवहार गर्न सके नेपालको आर्थिक उन्नतिमा फाइदा लिन सकिने शर्माको भनाई थियो ।
कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौलाले काँग्रेसको राजनीतिलाई गतिशील बनाउन युवा पुस्ताले हस्तक्षेप गर्न नसकेको भन्दै पुरानो पुस्तालाई सम्मानित विदाई गर्दै नयाँ पुस्ताले नेतृत्व खोस्नु पर्ने बताउँनुभयो ।

सम्बन्धित खबर