कनकाई संवाददाता
सुरुङ्गा, असोज ५ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले २०७३ सालको एसइइ परीक्षामा झापा जिल्लामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
संस्थाले आफ्ना शेयर सदस्य परिवारभित्रका परीक्षार्थीहरुमध्ये गत सालको एसइइमा सहभागी भएकामध्ये उत्कृष्ट ग्रेड ल्याउने ४ जनालाई सम्मान गरेको हो । त्यसरी सम्मानित हुनेमा सामुदायिक विद्यालय अन्तर्गत छात्रातर्फ कनकाई मावि सुरुङ्गाकी समिरा खरेल, छात्रतर्फ धुलाबारी मावि मेचीनगरका केशव गौतम, संस्थागत विद्यालय अन्तर्गत छात्रातर्फ प्यारागन एकाडेमी सुरुङ्गाकी श्रेया खनाल र छात्रतर्फ लिटल फ्लावर्स अंग्रेजी मावि विर्तामोडका समिप न्यौपाने रहेका छन् ।
संस्थाको चन्द्रगढी सेवा केन्द्रको कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उनीहरुलाई जनही नगद ७ हजारसहित सम्मानपत्रले सम्मान गरेका थिए ।
संस्थाको चन्द्रगढी सेवा केन्द्रका अध्यक्ष हिराप्रसाद पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा एनएमसी सञ्चालक समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, गोलधाप सेवा केन्द्रका संयोजक कपिलमनि चापागाई, ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्थाकी प्रतिनिधि गीता न्यौपाने, उत्कृष्ट ऋणीका तर्फबाट डिल्लीराम ढुंगेल, चन्द्रगढी सेवा केन्द्र एकाइ ४ संयोजक नारायण पौडेल र एकाइ ६ संयोजक बिमला चापागाईं, सम्मानित विद्यार्थीका अभिभावकका तर्फबाट तीर्थराज खरेल, सम्मानित छात्र केशव गौतम, एकतामूल कृषि सहकारीका अध्यक्ष भगीरथ नेपाल, भद्रपुर नगरपालिका वार्ड नं. ७ का वार्ड अध्यक्ष बिनोद पोखरेल लगायतले मन्तव्य राखेका थिए । हाल एनएमसीमा ४२ हजार शेयर सदस्य रहेको बताइएको छ ।
सञ्चालक समिति सदस्य माधवचन्द्र प्याकुरेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन चन्द्रगढी सेवा केन्द्रका इन्चार्ज प्रकाश सुवेदीले गरेका थिए ।