Kanakai Online

बिर्तामोडमा लोहोरो प्रहारबाट साथीको हत्या


मङ्गलवार, असोज २५, २०७९ |

कनकाई अनलाइन
दसैँमा मनोरञ्जनका लागि खेलिने तासको हारजितको विवादलाई लिएर झापा बिर्तामोडमा आफ्नै साथीको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
महाअष्टमीका दिन राति तास खेलेको विषयमा हार जीत हुँदा आफ्नै साथीको हत्या गरेको आरोपमा झापा प्रहरीले तीन जनालाई पक्राउ गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडले सार्वजनिक गरेको हो ।

अर्जुनधरा नगरपालिका ११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नबिन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले महिला सहित तीन जनालाई पक्राउ गर्दै सार्वजनिक गरेको हो ।

प्रहरीले सार्वजनिक गरेका आरोपीहरुमा इलाम –१ घर भई नयाँ बसपार्कमा ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथर फिदिम – १२ घर भई बसपार्कमै ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ– ७ घर भई सोही होटल बस्ने आचार्यकी श्रीमती २३ वर्षीया बिमला राई रहेका छन् ।

गत असोज १८ गते साविक ताप्लेजुङ्ग सिदिम्वा गाविस ४ सुरुमखिम घर भई हाल अर्जुनधारा ११ स्थित बसपार्क एरियामा बस्तै आएका गुरुङले लोहोरो प्रहार गरी हत्या गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनामा संलग्न थप फरारहरुको भने प्रहरीले खोजी कार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिनुभयो । विजया दशमीको फुलपातीका दिन उनीहरुले होटलमा तास खेलेको र पैसा हारजितको बिषयलाई लिएर विवाद भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

तास खेल्ने क्रममा विवाद हुँदा गुरुङलाई साथीहरुले टाउको पछाडिको भाग र नाकमा अचार पिस्न प्रयोग गरिने ढुङ्गाको लोहोराले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय अनारनीका प्रहरी नायव उपरीक्षक रुगम वहादुर कुँवरले जानकारी दिनुभयो ।

सम्बन्धित खबर