Kanakai Online

यस बर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार सम्पादक झापालीलाई


सोमवार, साउन ३०, २०७९ |

कनकाई अनलाईन
यसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ ।


प्रेस सेन्टर झापाद्धारा हरेक बर्ष प्रदान गरिदै आएको उक्त २०६९ बर्षको पुरस्कार विगत दुई दशकदेखि कनकाई नगरपालिका क्षेत्रबाट निरन्तर पत्रकारितामा लागिरहेको झापालीलाई प्रदान गरिन लागेको हो । झापाली नेपाल पत्रकार महासंघ प्रदेश नम्बर एकका कार्यसमिति सदस्य तथा गोरखापत्र दैनिकका बिर्तामोड समाचारदाता हुन ।

पुरस्कारको राशी नगद २१ हजार र सम्मानपत्र रहेको छ । यसैगरि कोरोना कहरका कारण विगत २ बर्षदेखि रोकिएको २०७७ र २०७८ सालको थप दुई पुरस्कार समेत एक्कैसाथ प्रदान गरिने भएको छ । जसमा २०७७ सालको डि कौडिन्य पत्रकारिता पुरस्कार चौतारी पोष्ट अनलाईनका सम्पादक पत्रकार जिएन शर्मा र २०७८ सालको पत्रकारिता पुरस्कारबाट पत्रकार राजु पाठकलाई पुरस्कार दिने निर्णय गरिएको प्रेस सेन्टरका झापा सचिव उद्धव पुरीले जानकारी दिनुभयो ।


पुरस्कार प्रदान गर्नका लागि प्रेस सेन्टर केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा दमकमा बसेको तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको थियो । छनौट समितिमा पत्रकार महासंघ झापाका सचिव तथा प्रेस सेन्टर प्रदेश कमिटी सदस्य डिकेश लामा र सेन्टरका जिल्ला अध्यक्ष झुलन रेग्मी रहेका थिए ।
पुरस्कारको राशि जनही २१ हजार रहेको छ । पुरस्कार भदौ १ गते गौरीशंकर स्मृति प्रतिष्ठान बिर्तामोडमा बितरण गरिने प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मीले बताए ।
पुरस्कार प्रेस सेन्टर झापाद्वारा पत्रकार डि कौडिन्यको नाममा स्थापित छ । पत्रकार डि कौडिन्यलाई तत्कालीन साही सेनाले चारआली व्यारेकामा २०५९ सालमा हत्या गरेको थियो ।
उक्त पुरस्कार यस अघि चन्द्र भण्डारी, लीला वराल, दीपिन राई, विमल लामिछाने, केशव भट्टराई,लाई प्रदान गरिएको छ ।

सम्बन्धित खबर