कनकाई अनलाईन
कचनकवल गाउँपालिका वडा नं ५ पाठामारी दलेगाउँका तीन किशोरीले एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् ।
पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा झिङ खोलाको किनारमा रहेको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीहरुले सामूहिक आत्महत्या गरेका हुन् ।
यसरी आत्महत्या गर्नेहरुमा १६ र १७ वर्षका किशोरीहरु रहेका छन् । पंचम गणेशकी १६ वर्षिया छोरी करिना , पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना आइतवार विहान ७.३० बजे झुन्डिएको अबस्थामा फेला परेको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । उनीहरु तीनैजना शनिवार दिउँसोदेखि घुुम्न जान्छुु भनेर घरबाट हिडेको परिवारले जनाएको छ । तीनजना मध्ये दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अबस्थामा फेला परेका हुन् । मृतक तीनै जना सोही चिया बगानमा काम गर्ने चिया मजदुुर समेत हुुन ।
उपाध्यक्ष भट्टराईका अनुसार एकजनाले गाई बाँध्ने दाम्लो , अर्कीले प्लाष्टिकको डोरी र अर्कीले गम्छा प्रयोग गरेका छन् । ती तीनैजना किशोरीहरु चिया बगानमा काम गर्ने गरेका थिए । यसरी ती तीनैजनाले सामूहिक आत्महत्या गर्नुको कारण थाहा हुन नसकेको उपाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गई शवलाई पोष्ट म्याटमका लागि धरानतर्फ पठाई थप अनुुसन्धान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताउनुुभयो ।