Kanakai Online

महाकाली सन्धिको २७ वर्षपछि टनकपुरबाट नेपालले पायो पानी


सोमवार, असार १३, २०७९ |

कनकाई अनलाईन
१३ असार, काठमाडौं । नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी पाउन थालेको छ । नेपाल र भारतबीच महाकाली सन्धि भएको २७ वर्षपछि नेपालले टनकपुर बाँधबाट पानी पाउन थालेको हो ।

सिंचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यका अनुसार भारतले पूर्वाधार निर्माण सकाएर टनकपुरबाट नेपालतर्फको भूभागमा परीक्षणका रुपमा पानी छाड्न थालेको हो ।

‘पहिलोपटक टनकपुर ब्यारेजबाट हामीले पानी पाउन थालेका छौं, यो लामो समय अलमलिएको योजना थियो, टनकपुरबाट पानी पाउनु उपलब्धीपूर्ण हो,’ उनले भने, ‘यसले महाकाली सन्धि कार्यान्वयनमा थप सघाउ पुग्नेछ ।’

आचार्यका अनुसार आगामी माघ १५ गते टनकपुरबाट आएको पानीबाट नेपाली भूभागमा रोपाइँ गर्ने कार्यक्रम समेत राखिएको छ । ‘बबुन र कालापानी क्षेत्रमा मूल नहरबाट पानी लगेर खेतमा रोपाइँ पनि गर्दैछौं ।’

महाकाली सन्धिअनुसार भारतले टनकपुर बाँधबाट सुख्खायाममा तीनसय क्युसेक तथा वर्षायाममा एक हजार क्युसेक पानी नेपालतर्फ पठाउनुपर्छ । नेपालले टनकपुर ब्यारेजबाट पाउने पानी उपयोगका लागि महाकाली सिँचाइ आयोजना ९तेस्रो० तयार गरिरहेको छ ।

महाकाली सन्धिले टनकपुर बाँधको बायाँतर्फ हेड रेगुलेटर ९पानी नियन्त्रक संयन्त्र० सहित नेपाल–भारत सीमासम्मको नहर भारतले नै निर्माण गर्नुपर्ने उल्लेख छ । सन्धिअनुसार टनकपुर ब्यारेजबाट भीमदत्त नगरपालिका–९ मटिनाको नेपाल–भारत सीमा १२ सय मिटर नहर बनाउनुपर्ने थियो ।

तर, लामो समयसम्म भारतलले यसमा अनाकानी गर्दै आएको थियो । तर, करिब २ वर्षअघि यसका लागि सहमत भएको थियो । लामो सयमको अन्तरविरोध समाधान गरेर भारतले सन्धिअनुसार आफ्नो भूभाग हुँदै नेपालसम्म जोड्ने नहर बनाउन थालेको थियो ।

नेपालले सन् २०१४ मा नै यो नहर तयार गर्ने गरी आफ्नो प्राविधिक प्रस्ताव पठाएको थियो । तर, भारतीय पक्षले प्राविधिक कारण देखाउँदै निर्माणमा आनाकानी गर्दै आएको थियो ।

पुस २०७७ मा तत्कालीन ऊर्जासचिव दिनेशकुमार घिमिरेको भारत भ्रमणमा सीमासम्म जोड्ने लिंक नहर भारतले तत्कालै निर्माण गर्ने सहमति भएको थियो । त्यसपछि मात्रै भारतले नहर निर्माणको काम तीव्र पारेको थियो ।

आव २०६३र६४ देखि नेपालले यही नहरबाट पानी ल्याएर सिंचाइ गर्ने गरी महाकाली सिंचाइ–तेस्रो आयोजनामा लगानी गरिरहेको छ । आयोजना अन्तरगत कञ्चनपुरको मटिनादेखि कैलालीको मालाखेतसम्म मूल नहर बनाइँदैछ । करिब ४२ किलोमिटरको मूल नहरमध्ये २८ किलोमिटर तयार भइसकेको महानिर्देशक आचार्यले जानकारी दिए । २८ किलोमिटरको सहायक नहर निर्माण गर्न टेन्डर भइसकेको उनले बताए ।

‘त्रिभुवननगरतर्फ पानी लैजाने गरी नहर बनाउन पनि डिजाइनको काम सक्दैछौं,’ उनी भन्छन्, ‘यो आयोजना अब राष्ट्रिय गौरवको भएकाले कामले थप गति लिन्छ ।’

यो आयोजना बनेपछि मूल रुपमा ब्रह्मदेव र त्रिभुवननगर क्षेत्रमा बाह्रैमास सिंचाइ सुविधा पुग्नेछ । यो नहर बनेपछि कैलाली र कञ्चनपुरको ३३ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्ने छ । महाकालीबाट अर्को योजना बनाएर पानीलाई सिंचाइका लागि दोधारा चाँदनीसम्म पुर्‍याउने सरकारी योजना पनि छ ।

भारतले सन् १९२८ मा महाकालीको पानी उपयोग गर्न शारदा ब्यारेज बनाएको थियो । तर, नेपालले शारदा ब्यारेको पानी लिन सन् १९७५ बाट मात्रै महाकाली पहिलो आयोजनामार्फत आफ्नो तर्फ पानी ल्याउन नहर खन्न थालेको थियो । पछि शारदा बाँधबाटै पानी ल्याउने गरी महाकाली दोस्रो आयोजना पनि बनाएर सिँचाइ सुविधा विस्तार गरिएको थियो ।

अहिले शारदा ब्यारेजबाट नेपालले पानी पाइरहेको छ । शारदा ब्यारेज कमजोर भएपछि २०४७ सालमा टनकपुरमा अर्को बाँध निर्माण गरिएको थियो । तर, टनकपुरबाट पानी दिन भने भारतले आनाकानी गरिरहेको थियो । अब टनकपुरबाट पनि नेपालले पानी पाउन थालेपछि स्थानीय किसान पनि खुसी छन् ।

भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिंचाइ पूर्वाधार तयार भने भइसकेको छैन । अहिले तयार रहेको पूर्वाधारले करिब ३ हजार हेक्टरमा तत्कालै सिंचाइ सुविधा पुग्ने अवस्था छ । शाखा नहरहरु विस्तार गरेर सकेसम्म अधिकतम् पानीको उपयोग गर्ने योजना रहेको विभागले बताएको छ ।

महाकाली तेस्रोको सन् २००१ मा विस्तृत सम्भाव्यता अध्ययन भएको थियो । ११ अर्ब १६ करोड रुपैयाँमा बन्ने अनुमान गरिएको आयोजनाको लागत अहिले ३५ अर्ब नाघ्ने देखिएको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ । गुरुयोजनाअनुसार समयमा काम नहुँदा अनुमानित लागत २१४ प्रतिशतले बढेको महालेखाको ठहर छ ।

सम्बन्धित खबर