कनकाई अनलाईन
शरणामती।चालू आर्थिक वर्षमा गर्भवती महिलालाई झापा जिल्लाभरीका अस्पताल सम्म जान अथवा आउनका लागि एम्बुलेन्स सेवाको एकतर्फी भाडा तिर्दै आएको झापा गाउँपालिकाले आगामी आर्थीक वर्ष २०७९ र ८० मा झापाभरीका अस्पताल सम्म लैजान र ल्याउनका लागि निस्शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ।
शुक्रबार बाह्रौं गाउँसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष अन्जुदेवी थपलियाले झापा गाउँपालिकाका गर्भवती महिलालाई झापा जिल्लाभरीका अस्पताल सम्म लैजान र ल्याउनका लागि निस्शुल्क एम्बुलेन्स सेवा प्रदान गर्नका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको बताइन।
उनले सामाजिक विकास अन्तर्गत स्वास्थ्यमा स्वास्थ जीवन योग तथा ध्यान विपसना कार्यक्रम संचालनका लागि १ लाख,आयुर्वेद सेवाका लागि ६ लाख,स्वास्थ्य विमा कार्यक्रमका लागि ५ लाख,उपाध्यक्ष मात्री शिशु स्याहारका लागि ४ लाख,अस्पताल तथा स्वास्थ्य सेवा संचालनका लागि २५ लाख,जनता उपचार कोषमा ५ लाख र सुगर प्रेसर लगायतका दिर्घ रोगीहरुको निस्शुल्क स्वास्थ्य विमा कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको बताइन।
त्यस्तै महिला स्वास्थ्य स्वयमसेवीकालाई दिइदै आएको मासिक प्रोत्साहनमा रु ५०० लाई वृद्धि गरि ३ हजार रुपैयाँ बनाइएको जसका लागि ११ लाख १६ हजार विनियोजन गरिएको थपलियाले जानकारी दिइन।अब सुत्केरी महिलाको रेखदेख गर्न स्वास्थ्य स्वयमसेवीकाहरु घर(घरमै पुग्ने उनले स्पष्ट पारिन् ।