कनकाई अनलाईन
झापामा जिल्ला समन्वय समिति गठन गर्न नेकपा एमालेलाई बहुमत जुटेको छ ।
कुल १५ पालिका रहेको झापा जिल्लामा पालिका प्रमुख र उपप्रमुख गरि ३० मत भार रहेकोमा झापामा यसपटक एक्लै १७ जना पालिका प्रमुख र उपप्रमुख जित्दै बहुमत सहित झापामा एमाले पहिलो दल बनेको छ ।
१६ मत ल्याउदा झापामा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र समन्वय समिति गठन गर्न सक्छ । झापामा एमालेपछि नेपाली कांग्रेसले कुल ९ पदमा बिजयी हुदै दोस्रो र कुल ४ पदमा बिजयी हुदै झापामा राप्रपा तेस्रो ठुलो दल बनेको छ ।
नेकपा एमाले यसअघि २०७४ सालको निर्वाचनमा समेत कुल १९ पदमा बिजयी हुदै पहिलो दल बनेर एकलौटी रुपमा जिल्ला समन्वय समिति गठन गरेको थियो ।
यसपटक नेकपा एमालेले शिवसताक्षी नगरपालिका, बाह्रदशी गाउँपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, गौरादह नगरपालिका गरि ६ वटा पालिकामा पालिका प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमालेले बिजयी हुदा कनकाई नगरपालिकामा नगरप्रमुखमा बिजयी भएको छ भने बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा उपाध्यक्ष पदमा एमाले बिजयी भएको छ ।
नेपाली कांग्रेसले झापा गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा बिजयी हुदा, बुद्धशान्ति गाउँपालिका,भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा पालिका प्रमुख र कनकाई नगरपालिका, दमक नगरपालिकाममा पालिका उपप्रमुखमा नेपाली कांग्रेसले जित निकालेको छ । राप्रपाले भने झापामा हल्दिवारी गाउँपालिकामा अध्यक्ष र उपप्रमुख दुबैमा जित निकालेको छ । यो राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको गृह नगर हो । राप्रपाले दमक नगरपालिकामा कांग्रेस, माओवादी सहितको गठबन्धनबाट नगरप्रमुख जितेको छ ।
यो एमाले अध्यक्ष केपीशर्मा ओलीको गृह नगर हो । यसवाहेक राप्रपाले भद्रपुर नगरपालिकामा नगरउपप्रमुखमा जित हाल पारेको छ । झापामा कुल १६१ वडामध्ये एमालेले ६१ वडा जित्दा, नेपाली कांग्रेसले ५१ वटा वार्ड माओवादी केन्द्र र राप्रपाले समान ७÷७ वटा वडा जित्दा नेकपा एसले १ वटा वडा र स्वतन्त्रले ४ वटा वडामा बिजयी भएको छ ।
जिल्ला समन्वय समितिका दावेदार शिवाकोटी परिषद सदस्यमै पराजित
यसैविच नेकपा एमालेबाट जिल्ला समन्वय समितिका सभापतिका दावी गरिएका वेणुप्रसाद शिवाकोटी कमल गाउँपालिकाको वार्ड सदस्यमै पराजित हुनुभएको छ । शिवाकोटी यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा कमल गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । शिवाकोटीलाई जिल्ला समन्वय समितिको सभापति बनाउने भन्दै वार्डसदस्यमा उम्मेद्धार बनाइएको थियो । शिवाकोटी वाहेक वार्डअध्यक्ष र अन्य ३ परिषद सदस्य एमालेबाट निर्वाचित हुदा शिवाकोटी भने पराजित हुनुभयो ।