Kanakai Online

झापाका ११ पालिकाका जनप्रतिनिधिले खाए सपथ


मङ्गलवार, जेठ १०, २०७९ |

कनकाई अनलाईन
झापाका १५ पालिकामध्ये मतगणना सम्पन्न भएका ११ पालिकाका प्रमुख, उपप्रमुख र जनप्रतिनिधिहरुले सपथ ग्रहण तथा पद ग्रहण गरेका छन ।
झापाका पालिका प्रमुखहरुलाई स्थानीय तह निर्वाचन झापाका मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत झापाका न्यायाधीश गिरिराज गौतमले आज (सोमवार) जिल्ला सदरमुकाम चन्द्रगढीस्थित जिल्ला अदालतको सभाहलमा सपथ ग्रहण गराउनुभएको छ भने नगरप्रमुखहरुले आआफ्नो पालिकामा नगर तथा पालिका उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुलाई पदको सपथ खुवाउनुभएको हो ।

सपथ ग्रहण गर्ने प्रमुखहरुमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाई, दमकका राम थापा , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, भद्रपुरका गणेश पोखरेल, अर्जुनधाराका बलदेव गोम्देन, शिवसताक्षीका मेघाहाङ थोप्रा, बुद्धशान्ति गाउँपालिकाका मनोज प्रसाई, हल्दिबारीका रविन्द्र लिङ्देन, बाह्रदशीका देवेन्द्र चौलागाई, कचनकवलका कालिन्द्रसिंह राजवंशी, झापा गाउँपालिकाका जयनारायण साह रहनुभएको छ ।
बाँकी रहेको गौरीगञ्ज, कमल गाउँपालिका, गौरादह, मेचीनगर नगरपालिकाका प्रमुखहरुमा भने मत गणना जारी रहेकाले सम्पन्न भएपछि पदको सपथ खुवाइने निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

सपथ ग्रहण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसैविच बिर्तामोड नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले समेत सोमवारदेखि औपचारिकरुपमा कार्यभार सम्हानुभएको छ ।

नगरपालिका कार्यालयमा भएको सपथग्रहणपछि निर्वाचित जनप्रतिनिधिले औपचारिक रुपमा काम थाल्नुभएको हो । नगर प्रमुख पवित्रा महतरा प्रसाईले उपप्रमुख नगेन्द्र सङ्ग्रौलासहित नव निर्वाचित ५१ जना जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको छ । यता कनकाई नगरपालिकाका जनप्रतिनिधिहरुले समेत सोमवारैदेखि आफ्नो कार्य सुभारम्भ गर्न सुरु गर्नुभएको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले उपप्रमुख आशा शर्मा शिवाकोटी लगायात ९ वटै वार्डका वडाअध्यक्ष र सदस्यहरुलाई एकैसाथ पदको सपथ खुवाउनुभएको हो । सो कार्यक्रममा उपबिजयी उम्मेद्धार र दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर