केशब चापागाई
शरणामती ।शनिबार गोधूली साँझमा झापा गाउँपालिका-५ को पन्थापाडा क्षेत्रमा निक्कै चहलपहल थियो।कारण-पन्थापाडा आसपास तथा खैरबारीमा दिनँहु आएका जंगली हात्तीले मकैबालीमा पुर्याएको क्षतिको विवरण लिन प्रदेश नं १ का कृषि मन्त्री झलक बहादुर मगर आएका थिए।
खेतमै मन्त्री आएपछि हौसिएका किसान मन्त्रीलाई दुःख पोख्दै थिए।यता मन्त्री भने कृषकलाई आश्वासन दिदै थिए। मगरले मकै क्षति पुर्याएको ठाउँको स्थलगत अनुगमन गरे।स्थानीयको लावा लस्करले मन्त्रीलाई घेरेको थियो।मन्त्री यहाँका किसानको दु:ख र पिडामा एक आस बनेर आएका थिए।मन्त्री बर्सेनि आउने हात्तीको क्षतिबाट आजित बनेका किसानको आशा बनेर आएका थिए।
दुई लाख रुपैयाँ ऋण खोजेर मकैबाली लगाएका अकबर हुसेन पनि आज निक्कै खुसी थिए।अर्का पिडित नेस महमदले मकैबाली क्षतिको राहत त आउँला नआउला थाहा भएन तर कृषि मन्त्री झलक बहादुर मगर,सांसद एलपी सावाँ लिम्बू,स्थानीय सरकार प्रमुख जयनारायण साह लगायतका नेताहरु चाहिँ आउनु भयो, यो पनि भाग्यकै कुरा हो उनले सुनाए।
यता शनिवार किसानकै खेतमा जंगली हात्तीको क्षति हेर्न पुगेका मन्त्री मगरले किसानलाई क्षतिपूर्ति दिलाउने प्रतिवद्धता जनाएका छन् ।मन्त्री सँगै पुगेका नेपाली काँग्रेसका झापा जिल्ला सभापति देउमान थेवे र स्थानीय झापा गाउँपालिका माओवादी केन्द्रका अध्यक्ष रुद्र बजगाईंले यहाँको किसानको स्थीती बारे मन्त्रीलाई जानकारी गराए सँगै मन्त्रीले झापा गाउँपालिकालाई कृषिमा यान्त्रिकरण गर्दै लाने बताए।


