Kanakai Online

प्रसाईको अभिव्यक्तिप्रति महासंघद्वारा खेद व्यक्त


शुक्रवार, माघ २१, २०७८ |

बिर्तामोड झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले सार्वजनिक रुपमा पत्रकारलाई धम्की दिएको घटनाप्रति विरोध जनाउँदै पत्रकार महासंघ झापा शाखाले खेद व्यक्त गरेको छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारी गरी प्रसाईको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघले सञ्चारमाध्यममा प्रकाशित/प्रशारित समाचारप्रति चित्त नबुझे सम्बन्धित सञ्चारमाध्यममार्फत खण्डन गर्ने, उचित सुनुवाई नभए न्यायका लागि प्रेस काउन्सिल र अदालत जान पाउने कानुनी हक हुँदाहुँदै समग्र पत्रकारिता क्षेत्रको बद्नाम हुने गरी प्रसाईले दिएको भ्रमपूर्ण अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको जनाएको हो ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रसाईको उक्त कार्यप्रति खेद जनाउँदै दोषिउपर कारबाहीका लागि महासंद्ध झापा शाखा जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । महासंघले प्रेस स्वतन्त्रता विरोधी यस्ता हर्कत नदोहोर्याउन सम्बन्धित पक्षलाई सचेत समेत गराएको छ ।

महासंघले एउटा सञ्चारमाध्यममा आएको समाचारको बिषयमा अर्को सञ्चारमाध्यमले खण्डन गर्नु पत्रकार आचारसंहिता विपरित हुने ठहर गर्दै सबै सञ्चारमाध्यम र पत्रकारहरुलाई आचारसंहिताको पा लना गर्न गराउनसमेत आग्रह गरेको छ । 

सम्बन्धित खबर