Kanakai Online

सुरुङ्गामा प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने


मङ्गलवार, पौष १३, २०७८ |

झापा ।झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्रदेश नं. १ स्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सुरुङ्गा जेसीजको आयोजनामा हुन लागेका ‘कनकाई भलिबल कप २०७८’ पुस १७ देखि २१ गतेसम्म आयोजना हुने भएको हो । 

कनकाई माध्यमिक बिद्यालयको खेल मैदानमा हुने भलिबल प्रतियोगितामा प्रदेश नं. १ का ७ वटा पालिकाको सहभागीता रहने मंगलबार सुरुङ्गामा पत्रकार भेटघाट गरेर आयोजकले जानकारी दिएको हो । 

प्रतियोगितामा भोजपुरको आमचोक गाउँपालिका, मोरङको बेलबारी नगरपालिका, इलामको माईजोगमाई नगरपालिका, झापाको दमक नगरपालिका, भद्रपुर नगरपालिका, कनकाई नगरपालिका र झापा गाउँपालिकाको टिमको सहभागीता रहने आयोजकले जनाएको छ । 

प्रतियोगिातामा प्रथम हुने टिमले एकलाख एकहजार एकसय ११, दोस्रोलाई ५१ हजार एक हजार एकसय ११ र तेस्रो हुनलाई २५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र, मेडल र ट्रफि प्रदान गरिने जनाइएको छ । 

यसअघि फुटवल प्रतियोगिता गर्दै आएको जेसीजले आर्थिक अभावका कारण फुटवल गराउन नसकेको बताउँदै भलिबल थोरै खर्चिलो भएकाले यस खेललाई निरन्तरता दिने जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ९ लाख १६ हजार ७ सय ७७ रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ । 

प्रतियोगिता सम्पन्न गर्न कनकाई नगरपालिका, प्रथम पुरस्कार विकास प्रसाई साथै अन्य सह–आयोजक साथै स्थानीय संघ÷संस्था र दाताहरुबाट प्राप्त हुने आयोजकले जनाएको छ । 

सुरुङ्गा जेसीजकी अध्यक्ष येदुका उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रतियोगिताका संयोजक विवेक शिवाकोटीले गरेका थिए भने कार्यक्रमको औचित्यमाथि प्रकाश जेसीजका वातावरण संयोजक राजु पाठकले पारेका थिए । 

कार्यक्रममा जेसीज पूर्व अध्यक्ष जविन तिम्सिना, सरला दाहाल पोखरेलको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन जेसीज महासचिव मेनुका उप्रेतीले गरेकी थिइन् ।