केशब चापागाईं
झापा,कार्तिक ३।लगातारको अविरल बर्षाका कारण झापा गाउँपालिकाका बस्ती डुबानमा परेका छन।मंगलबार बिहान देखि परेको अविरल वर्षाका कारण कनकाई नदीमा आएको बाढीले यहाँका मिलनबस्ती,सोर्ह खुट्टे,सुगाँ बथान,तीन टोलिया लगायतका बस्तीहरु डुबानमा परेका हुन।
बाढीका कारण गए राती १२ बजे झापा-२ सुगाँबथानका १० घरपरिवारलाई आफन्तकोमा स्थान्तरण समेत गरिएको टाघनडुब्बा बिओपी सशस्त्र प्रमुख सचिन प्रधानले बताए।उनका अनुसार झापा-१ मिलन बस्तीका ४ घर परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको थियो।झापा-१ मिलनबस्ती,सोह्र खुट्टे, झापा-२ सुगाँ बथान र झापा-७ तिनटोलिया राती डुबानमा परेका थिए।
बुधबार दिउँसो भने सुँगाबथान र तिनटोलियामा पानी सुकेको र मिलनबस्ती र सोह्र खुट्टेमा भने पानी घट्दो क्रममा रहेको प्रधानले जानकारी दिए।
कनकाई नदीको आसपासमा रहेका यी बस्तीमा नदीको उच्चवहाव बढेर पानी पसेको बताइएको छ।डुबानमा परेका यस क्षेत्रका करिव ८० घरपरिवारको जनजिवन अहिले पनि कष्टकर रहेको छ।


