Kanakai Online

दसै खर्च जोहो गर्न कनकाईमा मौलाउदै काठ तस्करी


शुक्रवार, असोज १५, २०७८ |

कनकाई अनलाईन
दसै खर्चको जोहो गर्न कनकाई माईमा बाँस र टयुवको चालीमा साखु जातको काठ बगाएर ल्याउने क्रम तीव्र वढेको छ ।

कनकाई माई क्षेत्रको दोमुखा क्षेत्रमा रहेको गैडे सामुदायिक वन समुहमा लामो समयदेखि उपभोक्ता समुह विहिन बनेको छ भने यस वनमा भोली शनिवार निर्वाचन हुदै छ । वनका सबै उपभोक्ता चुनाव केन्द्रित हुदा दक्षिणी इलामका युवा समुहले हाल दैनिक रुपमा सो नदिबाट काठ बगाउदै झापाको कनकाई, झापा गाउँपालिका , बिर्तामोडका साना ठुला काठ मिल र फर्निचर देखि भारतीय बजारसम्म तस्करी गर्दै आइरहेका छन ।
यसैक्रममा दक्षिणी इलामका सामुदायिक वनहरुबाट इलामको दक्षिणी सीमा भएर बगाएको काठ विहिबार राति वनको गस्ति टोलीले बरामद गरेको छ । पुर्व पश्चिम राजमार्गको झापास्थित कन्काई पुलको करिव दुइ सय मिटर उत्तरबाट चाली बनाएर बगाउँदै ल्याइएका २२ वटा फेन्टा करिव साढे २६ क्युविक फुट सखुवाको काठ बरामद भएको हो ।
चुलाचुली सव डिभिजन वन कार्यालयका जमदार गणेश नेपालको नेतृत्वमा रहेको गस्ती टोलीले काठ ल्याएको पाएपछि बरामद गर्न खोज्दा खोला पारी वारीबाट समेत उनिहरुलाई ढुंगाले हानेर तर्साउने र आक्रमण गर्ने प्रयाश भएको थियो । आक्रमणको प्रयाश विफल पार्न गस्ति टोलीले दुइ राउण्ड हवाई फायर गरेको जमदार गणेश नेपालले जानकारी दिनुभयो ।
वनमा काटिएको फेन्टा काँटी ठोकेर चाली बनाएर त्यहाँमाथि ट्युव बाँधेर भारततर्फ तस्करी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

राति नौ बजे खोलाबाट काठ आएको सुचना पाएपछि त्यहाँ नेपालको नेतृत्वमा टिका प्रसाद गुरुङ, नर बहादुर कार्की र इन्द्र बहादुर तामा समेतको गस्ति टोली त्यहाँ पुगेको थियो । खोलामा चाली आएको देखेर टर्च बालेर गस्ति टोलीले हेर्दा चालीमाथि रहेका काठ तस्करहरु काठ भएको चाली साइड लगाएर खोलापारी भागेका थिए ।
तस्करहरुले ढुंगा प्रहार गर्न थालेपछि बाध्य भएर हवाई फायर गर्नुपरेको जमदार नेपालको भनाई छ । सोहि रात पुन काठको चाली आउने सुचना पाएर गस्तिमा रहेको टोलीले थप चार वटा चाली अढाइ बजे राति बरामद गरेको छ । थप २४ वटा फेन्टामा २९ कयुविक फिट काठ बरामद गरिएको छ ।
माइखोलाबाट वर्षेनी यसरी नै काठ तस्करी हुने गरेपनि नियन्त्रणमा आउन सकेको छैन । चालीमा ठुल ठुला सखुवाका फेन्टा काँटी ठोकेर ल्याइने भएकाले इलामको महमाई क्षेत्रबाट नै काठ गएको अनुमान गरिएको छ । खुल्ला वन क्षेत्रमा गस्ति कम हुने र समूहका पदाधिकारी निस्क्रिय भएकाले चुरेको घना वन क्षेत्र मासीदै गएको छ । वन समूहका पदाधिकारी केहि तस्करीमा संलग्न भएको पाइएकाले खोजि कार्य जारी रहेको डिभिजन वन कार्यालय इलामले जानकारी दिएको छ ।
बर्षौदेखी तस्करी भइरहे पनि सम्वन्धित निकाय मौन जस्तै बस्ने गरेको छ । यसले तस्करहरुलाई अझ तस्करी गर्न मलजल मिलेको छ । यस बिषयमा चासो दिन जरुर छ ।

सम्बन्धित खबर