शरणामती,असोज १२।झापाको क्षेत्र नम्बर-४ स्थित २८ वडाहरुका बिच आयोजना हुन लागिरहेको “दिलमाया स्मृती कप फुटबल प्रतियोगिता” को छनौट खेल झापा गाउँपालिकामा आज मंगलवार देखि सुरु भएको छ।झापा-७ को जनकल्याण माविको खेल मैदानमा संघीय सांसद एलपी सावाँ लिम्बुले प्रतियोगिताको उद्दघाटन गरेका हुन।
उद्घाटनकै दिन समूह “ए” अन्तरगत झापा गाउँपालिका वडा ५ र १ बिच भएको पहिलो प्रतिस्पर्धामा वडा ५ ले झिनो गोल अन्तरले १ लाई पराजित गरेको छ।५ का तर्फबाट ९ नम्बर जर्सीका भरत हेमरमले हानेको गोललाई विपक्षी जर्सी नम्बर ४ का अमरेस राईले छेक्दा सो गोल पोस्टमा ठोकिएर गोलमा परिणत भएको थियो।वडा ५ को लागि १ को आत्मघाती गोलनै निर्णायक बनेको थियो।
त्यस्तै समूह “बि” अन्तरगत भएको दोस्रो खेलमा वडा ७ ले वडा २ लाई ३-० को गोलान्तर पराजित गरेको छ।वडा ७ का जर्सी नम्बर १५ का संजय टुडुले पहिलो गोल लगाएर टिमलाई अग्रता दिलाए संगै पुन जर्सी नंम्बर ९ का मानबहादुर आलेमगरले २ गोल गर्दै गोल थपेका थिए।यता २ का तर्फबाट भने रस्सकस्सीका बाबजुद पनि कुनै गोल हुन सकेन।
झापा गाउँपालिकामा रहेका ७ वडा बिच छनौट खेल हुनेछ।खेलको अन्तिम दुई स्थान हासिल गर्ने वडाले दिलमाया स्मृती कपमा हुने खेलमा सहभागी हुन पाउने प्रारम्भिक छनौट समितिका संयोजक सनित राईले कनकाई अनलाइनलाई बताए।यसरी नै क्षेत्र नं-४ मा रहेका प्रत्येक पालिकामा छनौट खेल हुनेछन।कुल २८ वडामा हुने प्रारम्भिक छनौट खेलबाट दिलमाया स्मृती कपमा ८ टिम सहभागी हुन पाउने छन।
क्षेत्र नं-४ का संघिय सांसद एलपी सावाँ लिम्बुले आफ्नी माताको स्व.दिलमाया लिम्बुको स्मृतिमा सावाँ परिवारको प्रायोजन तथा संरक्षणमा सो कप आयोजना गरिएको हो।प्रतियोगिता आयोजनाको जिम्मा नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटिले गर्नेछ।प्रतियोगिता आउदो कार्तिक ८ गते देखि शिवसताक्षीमा हुने खेल व्यवस्थापन समितिका संयोजक गजेन्द्र ताम्ली लिम्बूले बताए।
खेलमा प्रथम पुरुस्कार २ लाख २५ हजार नगद,दोस्रो पुरुस्कार १ लाख २५ हजार नगद र प्रमाण पत्र,मेडल,ट्रफी रहेको छ।त्यस्तै सेमिफाइनल र क्वाटरफाइनल पुगेका टिमले समेत नगद पुरुस्कार पाउने आयोजकले जनाएको छ।