कनकाई अनलाईन
मेचीनगर । जनताको मुक्तिका लागि झापा विद्रोहमा अगुवाई गर्ने मध्येका एक सानो दुर्गा अधिकारीले बल्ल नयाँ घर पाएका छन् । केपी ओलीसँगै आन्दोलन गरेर १७ वर्ष जेल जीवन बिताएका अधिकारीको घर माओवादी केन्द्रको सहयोगमा निर्माण सम्पन्न भएको हो ।
धुलाबारीको पुल छेउमा सडक पेटी नजिकै रहेको जग्गामा अधिकारीको घर निर्माण सम्पन्न गरी बुधबार तालाचाबी हस्तान्तरण गरिएको छ । नयाँ घर बनाइदिएपछि विगत लामो समयदेखि डेरा गरी बस्दै आएका अधिकारी दम्पत्ती वृद्धाअवस्थामै भए पनि आफ्नै नयाँ घरमा बस्न पाएका छन् ।
परिवर्तनका खातिर १७ वर्ष जेल जीवन बिताएका ७० वर्षीय अधिकारी पछिल्लो समय आर्थिक अवस्था कमजोर हुँदा कष्टकर जीवन बिताउन बाध्य छन् । आन्दोलनका क्रममा अधिकारी वर्तमान एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २०३० सालमा पक्राउ परेका थिए । झापा, इलाम, वीरगञ्ज र काठमाडौँका विभिन्न जेलमा बसेका अधिकारी ओलीभन्दा ३ वर्ष बढी जेल बसेर २०४६ सालमा जेल मुक्त भएका थिए ।
अधिकारीसँगै जेल जीवन बिताएका ओलीसहित अन्य थुप्रै नेताहरू पछिल्लो समय देशको उच्च पदमा पुगिसकेका छन् । उनीहरूले ऐसआरम, सुख–सुविधा र विलासी जीवन व्यतीत गरिरहँदा सानो दुर्गा अधिकारी भने बुढेसकालमा पनि दुःख र अभावका साथ कष्टकर जीवन बिताउन विवश छन् ।
झापा क्षेत्र नं. १ का संघीय सांसद राम कार्की (पार्थ) ले आफ्नो क्षेत्र विकास कोष मार्फत ‘आवाजविहीनहरुका लागि आवास’ कार्यक्रम अन्तर्गत बिनियोजित रकमबाट अधिकारीको घर निर्माण सम्पन्न भएको हो । सांसद कार्की माओवादी केन्द्रका केन्द्रीय पनि नेता हुन् ।
अधिकारीको घर निर्माण सम्पन्न गर्नका लागि सांसद् कार्कीमार्फत ३ लाख १६ हजार रकम उपलब्ध भएको र बाँकी रकम स्थानीय तथा श्रमदानबाट व्यवस्थापन गरी कुल ४ लाख रुपैयाँ खर्चेर निर्माण सम्पन्न गरिएको निर्माण समितिका संयोजक होमप्रकाश आचार्यले बताए । तीन कोठाको उक्त घरमा बरण्डासहित शौचालय छ ।
घर निर्माण सम्पन्न भएसँगै जिउदो योद्धा सानो दुर्गा अधिकारीले विगतमा नेताहरुले आश्वासन मात्रै दिएर जाने गरेको बताए । उनले सांसद राम कार्की तथा माओवादीका नेता तथा कार्यकर्तालाई घर बनाइदिएकोमा धन्यवाद दिए ।
निर्माण समितिका संयोजक होमप्रकाश आचार्यको अध्यक्षतामा भएको घर हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रका क्षेत्रीय इञ्चार्ज श्यामविर लिम्बू, मेचीनगर संयोजक पुष्प गुरागाईं, घरधनी सानो दुर्गा अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।