कनकाई अनलाईन
काठमाडौँ, साउन ११ गते । गोरखापत्र संस्थानको निमित्त महाप्रबन्धकमा शिवकुमार भट्टराई नियुक्त हुनुभएको छ । उहाँ संस्थानको कार्यकारी सम्पादक तथा मुना मासिकको सम्पादकको जिम्मेवारीमा हुनुहुन्थ्यो । संस्थानको अध्यक्ष वा महाप्रबन्धक नियुक्त नभएसम्मको लागि वा अर्को बैकल्पिक व्यवस्था नभएसम्मका लागि संस्थानको कर्मचारी सेवा शर्त बिनियमावली २०५२ बमोजिम दैनिक प्रशासनिक तथा आर्थिक कारोवार समेत सञ्चालन गर्ने गरी उहाँलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिइएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नि।सचिव स्तरको निर्णयअनुसार उहाँलाई जिम्मेबारी दिइएको जनाइएको छ । उहाँ २०४९ साल फागुन १ गते तह ७ को उपसम्पादक पदमा गोरखापत्रमा प्रवेश गर्नुभएको थियो । खोटाङ जिल्लाको लामीडाँडामा २०२५ साल जेठ ७ गते जन्मनुभएका उहाँले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर र कानुनमा स्नातक उत्तीर्ण गर्नुभएको छ । नवनियुक्त महाप्रबन्धक भट्टराईले सोमबार नै संस्थानमा पद बहाली गर्नुभयो । त्यसअवसरमा उहाँले प्राप्त जिम्मेबारीलाई इमान्दारिताका साथ पूरा गर्ने बताउनुभयो । सरकारको नयाँ नीति तथा कार्यक्रम जनसमक्ष लैजानु नै गोरखापत्रको जिम्मेबारी हुने उहाँको भनाइ छ । गोरखापत्र दैनिक र संस्थानका अन्य प्रकाशनहरुको स्तरोन्नती गर्ने नै आफनो मुख्य लक्ष्य हुने उहाँले बताउनुभयो । गोरखापत्रको सीमा र दायराभित्र रहेर काम गर्न उहाँले कर्मचारीहरुलाई आग्रह गर्नुभयो । संस्थानमा देखिएका समस्या समाधानका लागि आफनो तर्फबाट पहल गर्ने प्रतिवद्धता समेत उहाँले जनाउनुभयो ।
त्यसअवसरमा गोरखापत्र दैनिकका प्रधानसम्पादक श्रीधर आचार्य, द राइजिङ नेपालका प्रधानसम्पादक भीमसेन थपलिया, प्रबन्ध सम्पादक जुनारबाबु बस्नेत लगायतले नवनियुक्त महाप्रबन्धकको स्वागत गर्नुभएको थियो । त्यसअवसरमा नेपाल पत्रकार महासंघ गोरखापत्र शाखा, नेपाल प्रेस युनियन, नेपाल प्रेस संगठन नेपाल लगायतका प्रतिनिधिले पनि नवनियुक्त महाप्रबन्धक भट्टराईको स्वागत गर्नु भएको थियो ।