कनकाई अनलाईन
नेपाली काँग्रेस झापा गाउँपालिका समितिले आसन्न १४ औं महाधिवेशनको आजदेखि पूर्वतयारी शुरु गरेको छ ।
नेपाली काँग्रेस झापा गाउँपालिका समितिले सातवटै वडाका समिति र सक्रिय क्रियाशील सदस्यहरुलाई भेला गराएर छलफललाई अगाडी बढाएको छ भने पालिकास्तरको गाउँ समिति , वडा समिति र टोल समितिहरुलाई आसन्न १४ औ महाधिवेशन कसरी सफल बनाउने भनी व्यापक छलफल गरेको छ । आउने ९–१० गतेभित्र झापा गाउँपालिकाभित्रका सबै वडा समितिहरुलाई सर्वसम्मत तरिकाले गठनमा लाग्न नेताहरुले कार्यकर्तालाई आग्रह गरेका छन् ।
डिल्लीराज माविको सभाहलमा नेपाली काँग्रेस गाउँपालिका समिति सभापति मोलीलाल गणेशको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस महासमिति सदस्य देउकुमार थेवे रहेका थिए । प्रमुख अतिथि थेवेले केपी शर्मा ओलीको सरकार असफल रहेको , शासन सत्ता हातमा लिई जनतालाई दुःख दिनेबाहेक अरु कुनै विकासको काम नगरेको , तानाशाह शासकजस्तो व्यवहार गरेको आरोप लगाएका थिए । उनले भने , ‘यदि उनमा ईमान्दारिता र नैतिकता भएको भए अदालतले घोक्रेठ्याक लगाएर बर्खास्त गर्ने थिएन ।’ नेपाली जनताले सात दशक लामो त्याग , तपस्या र बलिदानवाट प्राप्त भएको संविधानलाई सम्मानित अदालतले रक्षा गरेको थेबेले बताए । नेपाली काँग्रेसको आसन्न १४ औं अधिवेशनको भेलाले अब गाउँपालिका समिति , वडा समिति र टोल समिति बनाउँदा सकेसम्म सर्वसम्मतले गठन गर्न उनले आग्रह गरे ।
त्यसैगरी नेपाली काँग्रेसका क्षेत्रीय सभापति जयनारायण शाहले आउने स्थानीय चुनावमा सातवटै वडामा काँग्रेस पार्टीले जित्नैपर्ने बताए । मभन्दा पनि राम्रो नेतृत्व खोज्ने , आफू कुनै पदमा नबसी सहमति गराउन सक्नु पर्ने , समाजले विश्वास गरेको व्यक्तिलाई नेतृत्व दिनुपर्नेलगायतका धारणा उनले राखेका थिए । झापा गाउँपालिकामा नेपाली काँग्रेसको सक्रिय सदस्य १३८० जना रहेका छन् । त्यसैगरी महासमिति सदस्य उत्तम सुवेदीले पनि १४ औं महाधिवेशनवाट वडा , गाउँ समिति , क्षेत्रिय समिति र जिल्लागरी देशलाई हाँक्न सक्ने नेतृत्वको चयन गर्नुपर्ने बताए ।
त्यसैगरी नेपाली काँग्रेसका सबै वडा सभापतिहरुले पनि आसन्न १४ औं महाधिवेशनमा सबैजना मिलेर सर्वसम्मतले टोल,वडा गाउँ समिति निर्माण गर्नुपर्ने बताएका थिए ।
नेपाली काँग्रेसका झापा गाउँपालिका उपसभापति राजकुमार यादवले स्वागत मन्तव्य राखेको कार्यक्रममा क्षेत्रीय सचिव ठोमनाथ नेपालले आसन्न १४ महाधिवेशनको औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रममा महासमिति सदस्य लख्खी गणेश ,जिल्ला सदस्य पुष्प प्रसाई , जगन्नाथ राजवंशी, अन्जु थपलिया , टंक विश्वकर्मा , बसुन्धरा थपलिया , सागिरथ गणेश , सातै वडाका सभापति , टिका गणेशलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन प्रताप विश्वकर्माले गरेका थिए ।
त्यसैगरी नेपाली काँग्रेसको गाउँपालिकाको पार्टी कार्यालय भवन निर्माणका लागि १ कठ्ठा १५ धुर जग्गा उपलब्ध भएको कार्यक्रममा जानकारी गराइएको थियो । समाजसेवी दिलिप सुवेदीले लाखौं पर्ने जग्गा पार्टीलाई दान दिएका हुन् । जग्गा प्राप्त भईसकेपछि पार्टी कार्यालय भवन बनाउनका लागि सागिरथ गणेशले १ लाख ११ हजार , ठोमनाथ नेपालले ५१ हजार ९ सय उनान्सय , अन्जु थपलियाले ५१ हजार , जयनारायण शाहले ५१ हजार , टिका गणेशले ३० हजार , बसुन्धरा थपलियाले ३० हजार , बलराम शर्माले २५ हजार ५ सय एकाउन्न , राजकुमार यादवले २५ हजार , कमल पोखरेलले २५ हजार , मो।ताहिरले २५ हजार र अब्दुल हाकिमले ११ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।