Kanakai Online

झापाका तीन अस्पतालले भेन्टिलेटर पाए, तर छैनन् जनशक्ति


सोमवार, असार १४, २०७८ |

चिरञ्जीवी घिमिरे

झापा, १४ असार-सरकारले गत वर्ष झापाको मेची अस्पताल भद्रपुरलाई तीन, दमक अस्पताललाई एक र प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेलाई एउटा भेन्टिलेटर उपलब्ध गराएको थियो । मेची र दमक अस्पतालले भन्टिलेटर जेनतेन चलाइरहेका छन्, तर प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेले प्राविधिक त्रुटि रहेको भन्दै सञ्चालनमा ल्याएको छैन ।

मेची अस्पतालमा प्राप्त तीनवटा भेन्टिलेटर मेची कोभिड अस्पतालमा जडान गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाह्राकोटी जनशक्ति अभावमा सञ्चालन गर्न निकै मुस्किल रहेको बताउँछन् । ‘पारामेडिक्स कम हुँदा गाह्रो भएको छ । भेन्टिलेटर चलाउन एक बेडमा एकजना नर्स चाहिन्छ । तर, १५ बेडमा दुईजना नर्सले काम गरिरहनुपरेको छ । यस्तोमा जसोतसो भेन्टिलेटर चलाएका छौँ ।’

दमक अस्पतालले पनि गत वर्ष सुरु गरेको दमक कोभिड अस्पतालमा भेन्टिलेटर जडान गरेको छ । तर, एनेस्थेसिया डाक्टर अभाव रहेको अस्पतालकी सूचना अधिकारी देवी दंगालले जानकारी दिइन् । ‘भेन्टिलेटर जडान गरेका छौँ । तर, जनशक्ति अभावले धेरै मुस्किल परेको छ । आम्दा अस्पतालबाट एनेस्थेसिया डाक्टर आएर चलाउन सहयोग गरिरहनुभएको छ,’ उनले भनिन् । प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेले भेन्टिलेटर चलाउनै सकेको छैन । अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव रिजालले प्राविधिक समस्या र जनशक्तिको अभावले सञ्चालन गर्न नसकिएको जानकारी दिए ।नयाँँ पत्रिकाबाट

सम्बन्धित खबर