Kanakai Online

भद्रपुरको निर्माणाधीन साइन्स सिटीमा सडक मिचिएको हैन


शुक्रवार, असार ११, २०७८ |

कनकाई अनलाईन

भद्रपुर ९ घोडामारा स्थित हडिया खोला किनारमा करिव १८ करोड लगानीमा निर्माण भइरहेको साइन्स सिटी निर्माणमा गर्न खोजिएको अवरोधप्रति स्थानीयले आपत्ति जनाएका छन् ।

केही दिनयता मेचीनगर १५ का बासिन्दाको नाममा केही व्यक्तिहरूले हुल हुज्जत गर्दै बाटो मिचिएको बाहना बनाएर विकास विरोधी काम गर्न खोजेको भनदै स्थानीयले निर्माण अवरोध विरूद्ध आपत्ति जनाएका हुन् ।

एक दशक अगाडि भद्रपुर नगरपालिकाले ल्याण्डफिल्डका लागि भन्दै खरिद गरेको ६ विगाह क्षेत्रफल सहितको जग्गामा चन्द्रगढी विमानस्थलसित जोडिका कारण फोहोर व्यवस्थापन केन्द्र बनाउन नसकिएपछि उपयोग गर्न नगर सरकारले साइन्स सिटीको अवधारणा ल्याएपछि संघीय सरकारले कार्योजनाका आधारमा १८ करोडको आयोजना स्वीकृत गरेपछि गत वर्षबाट घेरावाराको काम भइरहेको भद्रपुर ९ का कार्यवाहक वडाध्यक्ष रामप्रसाद दाहालले जानकारी दिएका छन् । उनका अनुसार पहिलो चरणमा ४५० मिटर घेरावारको काम ७० लाखमा सम्पन्न हुन लागेको छ । दोस्रोचरणमा करिव ३० लाखको घेरावारा भइरहेको छ तर सो जग्गाको बीचबाट केही वर्षयता मान्छे ओहोरदोहोर गरेर बनिएको बाटोलाई साविको बाटो भन्दै त्यो मेटिनु नहुने माग राखेर काम रोक्ने प्रयासमा मेचीनगर १५ का केही व्यक्तिले अवरोध गर्न खोजेको दाहालको भनाइ छ ।

निर्माणाधिन साइन्स सिटीको उत्तरपट्टिबाट घोडामारा ज्यामिरगढी सडक रहेको भएपनि सो सडक छोडेर निर्माण स्थलमै सडक रहेको भन्ने हल्ला चलाएर विवाद गर्न खोजिएको दाहालले जानकारी दिए । दाहालका अनुसार गत वर्ष निर्माण सम्पन्न भएको हडिया पुलबाटसिधा पश्चिमपट्टि निर्माणाधनि साइन्स सिटी रहेकाले मेची नगरका व्यक्तिहरू चन्द्रगढी आउँदा असहज हुने डरले विवादमा उत्रेका हुन सक्छन् तर साविकको सडक निर्माणका लागि नगर सरकारले ३५ फिटे ड्रेन सहितको सडक बनाउने प्रकृया थालिएको जानकारी दिएका छन् । यस वर्ष ७ करोडका संरचनाको काम हुन लागेको समेत कार्यवाहक अध्यक्ष दाहालले जनाएका छन् ।

यता स्थानीय रतिलाल राजवंशी साइन्स सिटी निर्माणको चरणमा रहेको क्षेत्र पहिले खोलाको बगर भएका कारण मानिस जताबाट पनि हिड्न पाउने अवस्थाले बाटो निर्मित भएको बताउँछन् । उनका अनुसार वास्तविक सडक उत्तरपट्टि रहेका कारण चन्द्रगढीको विकासमा ज्यामिरगढीका बासिन्दाले अवरोध गर्नु हुँदैन भन्छन् ।

यता मेचीनगर सरकारले भने काम नरोक्न भद्रपुर नगर सरकारलाई स्वीकृति दिइसकेको जनाइएको छ ।

सम्बन्धित खबर