Kanakai Online

मेची अस्पतालमा अक्सिजन प्लान्ट जडान बारे सिटौलाको चासो


आइतवार, असार ६, २०७८ |

भद्रपुर, ६ असार ।पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल चिकित्सक संघ र मेडिकल एसोसिएसन नेपालको सहकार्यमा विपन्नको उपचारमा सहजता ल्याउन मेची अस्पतालमा थालिएको प्रयास बारे प्रमुख सुपरिटेण्डन टंकप्रसाद वाराकोटीसित छलफल गरेका छन् ।

आफ्नो पहल स्वरूप चिकित्सक र मेडिकल एसोसिएसनले अक्सिजन प्लान्ट र भेन्टिलेर उपलब्ध गराउने निश्चित भएपछि जडानका लागि छिटो काम अगाडि बढाउन मेची अस्पताल प्रशासनको नेतृत्व लिएका वाराकोटीसित छलफल गरेका हुन् ।

निःशुल्क रुपमा अक्सिजन प्लान्ट र भेन्टिलेसन सहयोग आउने भएपछि सिटौललाले विपन्न नागरिकको ज्यान बचाउन अस्पतालमा व्यापक सुधार गरेर अगाडि बढ्न मेसु वाराकोटीलाई सुझाव समेत दिएका थिए । प्रदेह सभा सदस्य ओमप्रकाश सरावगी, क्षेत्रीय सभापति गणेश पोखरेल, वडाध्यक्ष द्वय गौरव सुब्बा मनोज, बन्धु कार्की, नेपाली काँग्रेस झापा जिल्ला सदस्य विजय रिजाल, महिला संघ क्षेत्रीय सभापति सर्मिला अधिकारी सहित अस्पताल पुगेका झापा क्षेत्र नम्वर ३ का पूर्व सांसद समेत रहेका सिटौलाले अस्पतालको नयाँ भवनको अवस्था, स्वास्थ्य सामग्री जडान गर्ने स्थल, स्वास्थ्यकर्मीको अवस्था र कोभिडका विरामीको चाप तथा उपचार अवस्था बारे चासो राख्दै त्यसमा परेको कठिनाइ समेतको जानकारी लिएका थिए ।

सिटौलासित कुराकानी गर्दै वाराकोटीले नेपाल सरकारले पनि अक्सिजन प्लान्टका लागि काम अगाडि बढाउने प्रकृयामा जाँदा जाँदै कोरोना माहामारी बढेकाले रोकिएको बताउँदै नेपाल चिकित्सक संघ तथा मेडिकल एसोसिएसन नेपाल मार्फत प्रतिदिन ११० सिलिण्डर भर्ने क्षमताको अक्सिजन प्लान्ट निर्माणको जानकारी प्राप्त भएको बताए । उनले सोही संघ तथा अन्य दाता गरी करिव ९ वटा भेन्टिलेटर समेत प्राप्त हुने भन्दै आफू अस्पताल भित्रका समस्या हल गर्दै सेवाग्राहीको सेवा प्रवाहमा प्रतिबद्ध रहने प्रष्ट पारेका थिए । भर्खरै अस्पतालको नेतृत्व लिएका वाराकोटीले अस्पतालमा उपचार सेवा प्रवाह गर्दाको ६ करोड बढी ऋण रहेका कारण समस्या परेको गुनासो समेत गरे । उनले स्वास्थ्य बिमा वापत ५ करोड भुक्तानी नआउँदा औषध उपचारमा संकट परेको समेत जानकारी दिए ।

सम्बन्धित खबर