कनकाई अनलाईन
अस्वाभिव पेट बढेर जीवन मरणमा रहनुभएका कनकाई ३ एकान्तटोल निवासी ४५ बर्षिय प्रकाश बुडाथोकीको जीवन बचाउनका लागि कनकाई नगरपालिका २ सुकेडाँगी निवासी हाल कतारमा रहनुभएका सविन वरालले ६ हजार ३ सय ५० रुपैँया आर्थिक सहयोग गर्नुभएको छ ।
बुडाथोकीको हाल हरेक दुई दिनमा पेटबाट पाइपबाट पानी निकाल्ने गरिएको छ । कोरोना महामारीका कारण बुडाथोकीको उपचारका लागि ३ महिनापछि थप उपचार र अप्रेशनका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बोलाइएको बुडाथोकीका छिमेकी तथा स्थानीय युवा समाजसेवी हरि कार्कीले बताउँनुभयो ।
बुडाथोकीको कष्टकर जीवनका वारेमा यस क्षेत्रका सामाजिक अभियान्ता तथा ज्ञानज्योती युवा क्लवका अध्यक्ष नारायण भेटवालले अभियान संचालन गर्दै सामाजिक संजालमा सहयोगका लागि आव्हान गरेपछि देश विदेशबाट सहयोग आउनेक्रम जारी छ ।
कनकाई २ का युवा सविन वरालले कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीको माध्यमबाट उक्त रकम हस्तानतरण गरिएको हो । तीन महिनापछि उपचारका लागि घोपा लैजानका लागि सबैसग आर्थिक सहयोगको अपिल गरिएको अभियानकर्मीद्धय नारायण भेटवाल र हरि कार्कीले बताउँनुभयो । हाल पनि हरेक दुई दिनमा बुडाथोकीको शरिरको पानी निकाल्न ४ हजार रुपैँया लाग्ने गरेको अभियानकर्मी कार्कीले बताउँनुभयो ।
बुडाथोकीले उपचारका क्रममा आफ्नो भएको ७ धुर जमिन पनि बिक्री गरिसकेपछि हाल ससुरालीमा बस्दै आएका छन । ससुरालीमा समेत वृद्ध भएका सासु ससुरा र ऐलानी जमिनमा बनेको सानो घरमात्रै रहेको छ ।