कनकाई अनलाईन
काठमाडौँ – कतार विश्वकपको एसियाली छनौटअन्तर्गत दोस्रो चरणको प्रतियोगिताअन्तर्गत आफ्नो छैटौँ खेलमा नेपालले बिहीबार चाइनिज ताइपेईसँग खेल्दै छ। कुवेतमा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुने खेलमा नेपाल जित हात पार्ने प्रयाशमा हुने छ। ।
समूह ‘बी’ मा नेपाल ५ खेलबाट ३ अंक जोडेर चौथो स्थानमा छ। शीर्षस्थानमा रहेको अस्ट्रेलियाको १२ अंक छ। ५र५ खेल खेलेका जोर्डन र कुवेतको समान १० अंक छ। ५ खेल खेलेपनि अंक जोड्न नसकेको चाइनिज ताइेपई पाचौँ तथा अन्तिम स्थानमा छ। नेपालले चाइनिज ताइेपईलाई मात्र हराएको छ। समूहमा हरेक टोलीले प्रत्येकसँग दुई दुई खेल खेल्ने प्रावधान छ। होम एन्ड अवेका आधारमा खेल्नुपर्ने भएपनि कोरोना भाइरसको लगातारको महामारीका कारण हरेक समूहका बाँकी खेलहरु एकै स्थानमा आयोजना गर्ने निर्णय भएको हो।
नेपालले अब चाइनिज ताइपेईबाहेक जोर्डन र अस्ट्रेलियासँग खेल्न बाँकी छ। जोर्डनसँग जुन ७ र अस्ट्रेलियासँग जुन ११ तारिखमा खेल्ने छ। एसियाली छनोटको दोस्रो चरणमा ८ वटा समूह छन्। समूहको शीर्ष टोली छनोटको तेस्रो चरणमा पुग्ने छ भने एसिया कपमा पनि छनोट हुने छ। ८ वटा समूहका चार वटा बेस्ट ‘उपविजेता’ टोली पनि तेस्रो चरण र एसिया कपमा पुग्नेछन्। बाँकी चार उपविजेता टोली एसिया कपको तेस्रो चरणको लागि छनोट हुनेछन्।
समूहको तेस्रो स्थानमा रहने टोली एसिया कपको तेस्रो चरणका लागि छनौट हुनेछन्। ८ वटा समूहका चौथो स्थानमा रहने चार वटा बेस्ट टोली एसिया कपको तेस्रो चरणको छनौटमा पुग्नेछन्। बाँकी चार वटा टोली र पाचौँ स्थानका टोलीले एसिया कप छनोट खेल्न प्ले अफमा प्रतिस्पर्धा गर्नेछन्। नेपालको सम्भावना एसिया कपको तेस्रो चरणको छनोटमा स्थान बनाउनु हुने छ।
चाइनिज ताइपेईलाई यसअघि पनि हराएकाले नेपालको लागि समानस्तरको प्रतिद्धन्द्धी हो। तर जोर्डन र अस्ट्रेलिया नेपालभन्दा निकै बलिया हुन्।
पहिलो प्रतिस्पर्धामा नेपालले अस्ट्रेलियासँग ५(० र जोर्डनसँग ३(० गोलको हार ब्यहोरेको थियो।
नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालको उदेश्य समूहमा चौथो हुनु रहेको बताएका छन्। ‘ एसिया कप छनोटमा स्थान बनाउन हामी समूहमा चौथो हुनुपर्छ। त्यसका लागि भोलि हुने खेलमा जित हात पार्नुपर्छ’, बुधबार आयोजित प्रि(म्याच कन्फेरेन्समा अल्मुताइरीले बताएका छन्।
नेपालको लय
नेपाल केही दिनअघि इराकमा त्यहाँको राष्ट्रिय टोलीसँग मैत्रिपूर्ण खेल खेलेर कुवेत पुगेको हो। इराकसँग भएको खेलमा नेपाली टोली ५(२ गोलले पराजित भएको थियो। नेपालका मनिष डाँगी र अन्जन विष्टले गोल गरेका थिए।
बलियो टोलीसँग खेल हारेपनि गोल गर्नु नेपालका लागि उपलब्धीमुलक रह्यो। प्रशिक्षक अल्मुताइरीले अधिकांश युवा खेलाडीलाई लिएर विश्वकप छनोट खेल्न पुगेका छन्।
नेपालले दुई महिनाअघि कीर्गिस्तानको यू(२३ राष्ट्रिय टोली र बंगलादेशलाई बोलाएर त्रिदेशीय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गरेको थियो।
लिग चरणका दुवै खेलमा गोलरहित बराबरी खेलेको नेपालले फाइनलमा बंगलादेशलाई हराएको थियो। त्यतिबेला नेपालले १८ महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा पहिलो गोल र पहिलो जित हात पारेको थियो।