भद्रपुर, १३ जेठ ।केही दिनयता किट अभावले कोभिड १९ (कोरोना) परिक्षण रोकिएको भद्रपुर स्थित कोरोना परीक्षण प्रयोगशालालाई ४ सय थान किट निशुल्क सहयोग गरिएको छ ।
सामाजिक उत्तरदायित्व अन्र्तगत भद्रपुर १० स्थित विभूति विद्या मन्दिरका पूर्व विद्यार्थी (एस एल सी समूह २०६३) ले रोग परीक्षण नरोकिने वातावरण निर्माण गर्न चार सयथान किट निशुल्क सहयोग गरेको हो ।
सरकारी दररेट अनुसार प्रति किट सात सय रुपैया पर्ने देखिए पनि पूर्व विद्यार्थी समूहले प्रति किट ४५० (चार सय पचास) मा खरिद गरी अस्पताल प्रशासनलाई हस्तान्तरण गरेका हुन् ।
सो समूहका तर्फबाट शेखर बुढाथेकी (विसाल), प्रमेश न्यौपाने र सौरभ घिमिरेले अस्पतालका मेडिकल सुपरिटेण्डन डा. पिताम्वर ठाकुरलाई हस्तान्तरण गरेका थिए ।
अस्पताललाई किट दिन पहलमा जुटेका शेखर बुठाथोकीले मेची अस्पतालमा कोरोना परीक्षण रोकिने वातावरण बन्नु नहुने ठानेर हामीले मानव सेवाका लागि पहिलो चरणमा चार सय थान कोरोना परीक्षण किट दिएको जानकारी दिए ।
केही दिनयता मेची अस्पतालमा कोरोना परीक्षण रोकिदा सयौं कोरोना रोगी रोग मुक्त भए नभएको अन्यौलमा थिए भने सयौं कोरोना लक्षण भएर पनि रोग पहिचान गर्नबाट बञ्चित भएका छन् । किट ल्याउने जिम्मेवार पक्ष अन्यौलमा रहेका बेला विद्यार्थी समूहको सहयोगले केही राहत मिलेको छ ।