कनकाई अनलाईन
झापामा क्रियाशील नौ वटा राजनीतिक दलले एकजुट भएर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीविरुद्ध आन्दोलनको आँधीबेहरी ल्याउने घोषणा गरेका छन् ।
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर र राष्ट्रपति भण्डारीले मुलुकलाई जटिल र गम्भीर राजनीतिक दुर्घटनातर्फ धकेल्ने षडयन्त्र गरेको ती दलहरुले ठहर गरेका छन् ।
आज संयुक्त विज्ञप्ति जारी गर्दै दलहरुले उक्त घोषणा गरेका हुन् ।
संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा नेपाली कांग्रेसका जिल्ला सभापति उद्वव थापा, नेकपा माओबादी केन्द्रका जिल्ला सचिव मणिकुमार साम्पाङ ९बिजय०, जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राई, नेकपा एमालेको माधव नेपाल समूहका जिल्ला अध्यक्ष बेदराज रेग्मी, बहुल राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङ्वा, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष धनबहादुर पन्दाक, विवेकशील साझा पार्टीका झापा अध्यक्ष मेदनी प्रसाई, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष प्रकाश थम्देन र राष्ट्रिय जनमोर्चाका झापा अध्यक्ष सन्तोष तामाङ रहेका छन् ।
‘प्रधानमन्त्री ओलीको मुलुकलाई जटिल र गम्भिर राजनीतिक दुर्घटनातर्फ धकेल्ने यस्तो आपराधिक षडयन्त्रको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ,’ विज्ञप्तिमा भनिएको छ–‘मुलुकलाई जननिर्वाचित प्रतिनिधिसभाविहीन बनाएर अध्यादेशको भरमा राष्ट्र सञ्चालन गर्ने कार्यले समृद्ध राष्ट्रको निर्माण हुन सक्दैन भन्ने हाम्रो ठहर छ ।’