Kanakai Online

गर्भवती श्रीमतिलाई कोरोना लागेपछी चारआलीको टहरामा छोडी श्रीमान फरार ।


बुधवार, जेठ ५, २०७८ |

झापा,जेठ ५ । दोस्रो लहरको कोरोना भाइरसको नयाँ भेरियन्टले मुलुकवासी आक्रान्त बनेको छ ।

यस्तो अवस्थामा कोरोना संक्रमित भएका व्यक्तिको उपचारदेखि स्याहारसुसार जिम्मेवारी उनकै परिवारको मुख्य दायित्वमा पर्छ । तर, झापामा एउटा अनौठो घटना बाहिरिएको छकोरोना संक्रमित भएकी श्रीमतीलाई बेवारिसे अवस्थामा छाडेर उनका श्रीमानमा अहिले सम्पर्कविहीन बनेका छन् ।

मेचीनगर नगरपालिका १३ स्थित चाराआली बजार नजिकै डेरा गरी बस्दै आएका श्रीमानले आफ्नी गर्भवती श्रीमतीलाई बेवारिसे अवस्था छाडेर सम्पर्कविहीन बनेका हुन् ।

संक्रमण पुष्टि भएपछि घरबेटीले समेत डेरा बस्न नदिएको ती महिलालाई श्रीमानले मङ्गलवार साँझ चाराआली स्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर फरार भएको मेचीनगर १३ नम्बरका वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए ।ती महिलाले आइतबार मेची अञ्चल अस्पतालमा आएर पीसीआर परीक्षण गरेकी थिइन। सोमबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।त्यसपछि श्रीमानले उनलाई टहरा लगेर छाडेका हुन् ।

वडाध्यक्ष सिग्देलका अनुसार वडाभित्रका घटना भएकोले आफ्नो जिम्मेवारी वहन गर्दै ती महिलालाई टहराबाट उद्धार गरी एम्बुलेन्समा हालेर मेचीनगर नगरपालिकाले बनाएको कोभिड आइसोलेसनमा लगेको बताए ।

दमक नगरपालिका ५ सन्देश कँडेलसँग ती महिलाले २०७७ साल मङ्सिरमा प्रेम विवाह गरेको खुलेको छ । श्रीमान् कँडेल पेसाले गाडीका सहचालक हुन् । महिलाको माइती चाराआली नै हो । विवाह पश्चात् उनीहरू यहाँ डेरा गरी बस्दै आएका थिए । महिलाको उमेर १७ वर्ष रहेको वडा अध्यक्ष सिग्देलले बताए ।