कनकाई अनलाईन
कोभिडका बिरामीका कारण देशभरका अस्पतालमा अक्सिजनको अभाव भइरहेको बेला झापाको एकको लागि एक अभियानले अक्सिजन बैँक स्थापना गर्ने भएको छ । कोभिडको पहिलो चरणमा समेत झापाको कनकाई नगरपालिकामा पीसीआर ल्याव स्थापना गरेको अभियानले अक्सिजन बैंक स्थापना गर्ने तयारी थालेको अभियानका अध्यक्ष महेन्द्रकुमार गिरीले बताउँनुभयो ।
कोभिड संक्रमितको उपचारमा अक्सिजनको माग बढ्दै गएपछि एकका लागि एकले सो अभियान शुरु गर्न लागेको हो । नेपालमा अक्सिजन उत्पादन भए पनि सिलिण्डरको अभाव धेरै छ । अभियानका संयोजक गिरीका अनुसार पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद गरिने छ ।
जिल्लाका तीन अस्पतालमा अक्सिजन प्लान्ट निर्माण धमाधम भइरहेको छ । सो अस्पतालहरुलाई समेत सिलिण्डरको अभाव भइरहेको छ । अक्सिजन बैंक स्थापना गर्न चीनबाट सिलिण्डिर आयात गर्ने तयारी भएको अभियानका गिरीले बताउँनुभयो । चार सय सिलिन्डर आयात गर्न करिव ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसका लागि सहारा नेपालको टिमले १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ ।
सो अभियानमा ‘एक व्यक्ति एक सिलिन्डर’ अभियान समेत सुरु गरिने भएको छ । आवश्यक सहयोगका लागि अन्तर्राष्ट्रिय झापाली समाज, वित्तीय संस्थाहरुको सहयोग लिइने अभियानकर्मी बिनोद बस्नेतले बताउँनुभयो ।
तस्वीर ः झापाको कनकाई नगरपालिकामा एकका लागि एक अभियानले संचालनमा ल्याएको पिसिआर ल्याव