Kanakai Online

नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी र एकदिबसीय वरियतामा माथि उक्लियो


सोमवार, वैशाख २०, २०७८ |

कनकाई अनलाईन
काठमाडौं, बैशाख २० गते । नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरियतामा पुनः माथि उक्लेको छ । नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृखंला जितेर एक स्थानमाथि उक्लेको नेपाल एक साता नबित्दै आईसीसीको नयाँ वरियतामा पुनः एक स्थानमाथि उक्लेको हो ।
आईसीसीले सोमबार जारी गरेको नयाँ वरियता बमोजिम नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरियतामा १३ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १४ औं स्थानमा थियो । पछिल्लोपटक नेपालले स्कटल्याण्ड र यूएईलाई उछिनेको छ । यसअघि स्कटल्याण्ड १३ औं स्थानमा थियो । स्कटल्याण्ड अब १४ औं स्थानमा चिप्लिदा यूएई १५ औं स्थानमा पुगेको छ । नेपालभन्दामाथि टेष्ट मान्यता प्राप्त राष्ट्रहरु छन् । आयरल्याण्ड १२ औं स्थानमा छ ।
नयाँ वरियता बमोजिम नेपालको रेटिंग्स १८७ पुगेको छ । आयरल्याण्डको रेटिंग्स १८८ छ । ११ औं स्थानको जिम्बाबवेको रेटिंग्स १९१ छ । नेपालले १९ खेलबाट तीन हजार ५५६ अङ्क जोडेको छ । आयरल्याण्डको १८ खेलबाट तीन हजार ३८८ अङ्क छ ।
आईसीसीको नयाँ वरियतामा इंग्ल्याण्ड शीर्ष स्थानमा यथावत छ ।
त्यसैगरी, नेपालले अन्तर्राष्ट्रिय एकदिबसीय क्रिकेटको विश्व वरियतामा समेत एक स्थानमाथि उक्लेको छ । यसअघि १७ औं स्थानमा रहेको नेपाल आईसीसीले सोमबार जारी गरेको नयाँ वरियतामा १६ औं स्थानमा उक्लेको छ । अन्तर्राष्ट्रिय एकदिबसीयमा भने नेदरल्याण्ड्स ११ औं स्थानमा छ । नेपालभन्दामाथि आयरल्याण्ड, जिम्बाबवे, ओमान, स्कटल्याण्ड छन् । नेपालले एकदिबसीय क्रिकेटमा यूएईलाई उछिनेको हो ।
आईसीसीको नयाँ वरियतामा न्युजिल्याण्ड अन्तर्राष्ट्रिय एकदिबसीयको शीर्ष स्थानमा छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो तथा इंग्ल्याण्ड चौथो स्थानमा छन् ।

सम्बन्धित खबर