Kanakai Online

झापा गाउँपालिकामा पोषण सम्बन्धी ७ दिने तालिम सुरु।


बिहिवार, वैशाख १६, २०७८ |

शरणामती,बैशाख १६।झापाको झापा गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुका लागी पहिलो चरणको सात दिने बृहत पोषण प्याकेज सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
गाउँपालिकाले ७ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई सात दिने क्षमता अभिवृद्धि तालिम सुरु गरेको हो ।

पोषण सम्बन्धि वृहत विषयबस्तुको एकीकृत प्याकेज सम्बन्धी स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने, पोषण सम्बन्धी व्यवहारमा परिवर्तन गरि ज्ञान सीपको धारणामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख लक्ष्मण बिश्वकर्माले जानकारी दिनुभयो ।

तालिमको उद्घाटन गर्दै ६ नं वडाध्यक्ष हरिवहादुर बानियाँले तालिममा सिकेका कुरा स्वास्थ्यकर्मीले आ–आफ्नो कार्यक्षेत्रमा लागू गर्ने विश्वास ब्यक्त गर्नुभयो । पोषणको अवस्थामा सुधार गर्न स्वास्थ्यकर्मीले विशेष भुमिका खेल्नुपर्ने बताउँदै उहाँले कुपोषित हुन नदिन पूर्व योजनाहरू अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा ७ नं वडाध्यक्ष नेत्र प्रसाद उप्रेतीले मन्तव्य राख्दै बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको बताउनु भयो ।

गाउँपालिकाले पहिलो चरणमा बैशाख १६ गते देखी  २२ गतेसम्म १५ जना र दोस्रो चरणमा २३ गते देखि २९ गते सम्म १५ जना गरि कुल ३० स्वास्थ्यकर्मीहरुले बृहत पोषण प्याकेज सम्बन्धी क्षमता अभिवृद्धि तालिम लिईने बिश्वकर्माले बताउनु भयो । तालिममा कुपोणको अवस्था, पोषिलो खानेकुराहरू, व्यवहार परिर्वतन,सरसफाइ, पोषणको अवस्था सुधारमा भावी कार्ययोजना लगायतका विषयमा प्रशिक्षण गराइने स्वास्थ्य शाखाले जनाएको छ ।बैशाख १६ गते देखी सुरु भएको तालिम २९ गते सम्पन्न हुने छ ।

सम्बन्धित खबर