काठमाडौँ– त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई २३९ रनको लक्ष दिएको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनाएको हो।
टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च स्कोर हो। नेपालले यसअघि भुटानविरुद्ध २३६ रन बनाएको थियो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए। ५३ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे।
यस्तै कुशल मल्लले पनि अर्धशतक पूरा गरे। उनले २४ बलमा २ चौका र ५ छक्काको मद्दतमा ५० रन बनाए। यस्तै दिपेन्द्रसिंह ऐरीले १८ बलमा ४८ रन बनाए।
कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आशिफ शेखले १६ बनाए।
बलिङतर्फ नेदरल्याण्ड्सका फिलिप बोइसेभिएनले २ र सेबास्टिएन ब्राटले एक विकेट लिए।