Kanakai Online

गौरादहमा नब्याएको बाच्छीले दूध दिन थाल्यो


शुक्रवार, वैशाख १०, २०७८ |

झापा, वैशाख ९ गते । झापाको गौरादह नगरपालिका–३ का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकन नै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् ।

नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न थालेको छ । “चिकित्सा विज्ञानलाई आश्चर्यमा पार्ने गरी आफ्नै गोठमा बाँधेर पालेको २१ महिनाको बाच्छीले दूध दिन थालेपछि अचम्म लाग्यो,” पन्तले भन्नुभयो ।पशु चिकित्सकलाई जाँच गराउँदा गाईले गर्भधारण नगरेको पाइएको गाईधनी पन्तले बताउँदै भन्नुभयो, “घरमा बाँधेर पालेको बाच्छी २१ महिनाको मात्र भयो । यसलाई कहीँ लगिएको पनि छैन ।” “एक हप्तादेखि बाच्छीको अचानक फाँचो ह्वात्तै बढ्यो । थुनसमेत ब्याएको गाईको जस्तो पघ्रेर आए । बाच्छीको थुन गानिन थालेपछि हामीले दुहुन थाल्यौँ । उसले आरामले दूध दिन थाल्यो,” गाईधनी पन्तले भन्नुभयो । अहिले दैनिक एक पटक दुहुने गरेको र दूध अलि पातलो र पहेँलो रहेको पनि उहाँले बताउनुभयो । बिगौती दूध भएकाले घरमा कसैले पनि नखाएको दूध बाख्र्राका पाठालाई दिने गरिएको छ ।

यस सम्बन्धमा गौरादह नगरपालिकको पशु सेवा शाखाका प्रमुख सन्तोष भण्डारीले यो अप्राकृतिक गर्भधारण भएको बताउनुभयो । कहिलेकाहीँ पशुको नियमित प्रक्रियाभन्दा बाहिर गएर हर्मनको विकास हुँदा यस्तो हुने र यसलाई फल्स प्रेगनेन्ट अर्थात् (झुटो गर्भाधान) भनिने उहाँको भनाइ छ । यो हर्मनका कारण भएको हुनाले केही समयमा हराउन पनि सक्ने केहीको भने लामो समयसम्म पनि रहनसक्ने भण्डारीले बताउनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित खबर