Kanakai Online

झापा गाउँपालिका-जनगणनासम्बन्धी स्थानीयस्तरीय सचेतना।


बिहिवार, वैशाख ९, २०७८ |

कामाटोली,बैशाख ९।झापा गाउँपालिकामा राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा स्थानीयस्तरीय सचेतना गोष्ठी सम्पन्न गरिएको छ। आगामी जेठ २५ देखि असार ८ गतेसम्म देशव्यापी रूपमा हुने जनगणनाबारे जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउने लक्ष्यका साथ झापा गाउँपालिकामा बिहिबार स्थानीयस्तरीय सचेतना गोष्ठी गरिएको हो।

गाउँपालिका कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा जनगणनाको परिचय, जनगणनाको आवश्यकता, नेपालको जनगणनाको इतिहास, जनगणनाका क्रममा गरिने घर तथा घरपरिवार लगत सूचीकरण, सामुदायिक प्रश्नावली, मुख्य प्रश्नावली, जनगणनाको तालिका, जनगणनामा समेटिने विवरणलगायत बारेमा जानकारी दिइएको छ। सहभागीलाई राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त जानकारी र तयारी कार्यबारे जानकारी गराइएको स्थानीय जनगणना अधिकारी प्रेम न्यौपानेले बताए। गाउँ पालिकाका जनप्रतिनिधी,कर्मचारी,राजनितीक दलका प्रतिनिधि,संघ संस्थाका प्रतिनिधी,शिक्षक साथै पत्रकारको उपस्थितिमा गरिएको गोष्ठीमा ‘जनगणना के हो, यो किन गरिन्छ भन्नेदेखि जनगणनाबाट प्राप्त हुने तथ्यांकको प्रयोग, जनगणनाको इतिहास, आगामी जनगणनाको विशेषता बारेमा जानकारी दिइएको थियो।सहभागीलाई जनगणनाका प्रश्नावली, घरपरिवार लगत सूचीकरण, जनगणना २०७८ को मुख्य दिनहरू, जनगणनामा समेटिने विवरणबारे पनि जानकारी गराइएको छ।कार्यक्रम पालिका उपप्रमुख कुन्तीदेबी बुढाथोकीको अध्यक्षता एवंम प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो।

जनगणनाका सुपरिवेक्षकले आगामी वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरणको काम गर्नेछन्। यस्तै गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणनाको काम गर्ने बताइएको छ ।पहिलो चरणमा सुपरिवेक्षकद्वारा प्रत्येक घरपरिवारमा अक्सर बसोबास गरेका परिवारका पुरुष, महिलाको संख्या, परिवारको कृषिसम्बन्धी विवरण, सरकारी अनुदानबाट घर निर्माण, बैंक खाता, प्राविधिक तथा व्यावसायिक शिक्षा, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणसम्बन्धी विवरण संकलन गरिन्छ,जनगणनाका अधिकारी न्यौपानेले भने, ‘दोस्रो चरणमा मुख्य प्रश्नावलीमार्फत घरपरिवार तथा व्यक्तिको जनसांख्यिक तथा अन्य विवरण संकलन गरिन्छ।’ जनगणनाको कार्यालय कनकाई नगरपालिकामा हुने गरी कनकाई र झापा गाउँपालिका दुई स्थानिय तहको गणना सम्पन्न गर्ने कार्ययोजना रहेको न्यौपानेले जानकारी दिए।

सम्बन्धित खबर