Kanakai Online

जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड क्लबको पोल्टामा


शुक्रवार, वैशाख ३, २०७८ |

कनकाई अनलाइन

बिर्तामोड, वैशाख ३ गते । झापाको बिर्तामोड नगरपालिका बुट्टवारीमा भएको जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड क्लबले जितेको छ ।आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई हराउँदै बिर्तामोड युनाइटेड क्लबले फुटबल प्रतियोगिताको उपाधि जित्दै नगद ५५ हजार नगद पाएको छ । उपबिजयी बनेको बुट्टवारीले नगद ३३ हजार रुपैँया पाएको छ

बिहीबार सम्पन्न फाइनल खेलमा बिर्तामोडले बुट्टबारीबिरुद्ध ४–२ को जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । पहिलो हाफ १–१ को बराबरीमा सकिए पनि दोस्रो हाफमा बिर्तामोडले थप दुई गोल गर्दै जित निश्चित गरेको थियो । खेलको १९ औँ मिनेटमा बिर्तामोडमा सूर्य टुडुले गोल गर्दै अग्रता दिलाए पनि ३१ औँ मिनेटमा बुट्टाबारीमा बबिन बोहोराले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए । खेलको ४८ औँ मिनेटमा बिर्तामोडका आशिष चापागाईंले गोल गर्दै नतिजा २–१ मा पुर्याए । बुट्टाबारी खेलमा फर्कने कोसिस गरे पनि उपाधि रक्षा गर्न भने सकेन ।

५४ औँ मिनेटमा बिर्तामोडका प्रशान्त लक्समले आफ्नो टिमका लागि तेस्रो गोल गरे ।बुट्टाबारीका बबिनले ७४ औँ मिनेटमा टिमका लागि तथा व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए । तर, त्यसको ४ मिनेटपछि बिर्तामोडका विक्रम तामाङले गोल गर्दै नतिजा ४–२ बनाएका थिए । फाइनल खेलको म्यान अफ दि म्याच बिर्तामोडका घोषित भए । उहाँले नगद २ हजार रुपैँया पाउनुभयो । प्रतियोगिताको बेस्ट गोल किप्पर बिर्तामोडका अभिषेक रिजाल, बेस्ड डिफेन्स बिर्तामोडकै विशाल बस्नेत, बेस्ड मिल्ड फिल्ड प्रशान्त लक्सम, उत्कृष्ट फर्वाड बुट्टाबारीका सनम लिम्बू हुनुभयो । प्रतियोगिताका राइजिङ खेलाडी बुट्टाबारीका अभिषेक चौधरी घोषित हुँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बुट्टाबारीकै विप्लव मैनाली भए ।

पिपल्स च्वाइसको पुरस्कार विजय राईले पाउनुभयो । बिर्तामोड नगरपालिका वडा नम्बर ६ र हरियाली सामुदायिक वन उपभोक्ता समूहको सहयोग तथा बुट्टाबारी युनाइटेड क्लबको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका आठवटा टिमले सहभागिता जनाएका थिए । विजेता तथा उपविजता टिमलाई कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशसभा सदस्य एकराज कार्की, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, बिर्तामोड ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवालगायतले पुरस्कार, मेडल तथा ट्रफी वितरण गर्नुभयो ।