Kanakai Online

पत्रकार महासंघ निर्वाचन प्रदेश १ः २१ पदका लागि ५४ जनाको उम्मेदवारी


बिहिवार, चैत १९, २०७७ |

कनकाई अनलाईन
मोरङ– नेपाल पत्रकार महासंघ प्रदेश १ को निर्वाचनमा २१ पदका लागि ५४ जनाको उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ। बिहीबार विराटनगरस्थित प्रदेश निर्वाचन समितिमा महासंघको अध्यक्ष पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ।

अध्यक्षका लागि प्रेस यूनियनका सोमनाथ सुसेली र लिलाबल्लभ घिमिरेले उम्मेदवारी दिएका छन्। इलामका सुसेली यसअघि महांसघको उपाध्यक्ष रहेका थिए। २५ गते हुने निर्वाचनका लागि प्रेस चौतारीका तर्फबाट मोहन काजीले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरि उपाध्यक्षको खुल्लामा सुनसरीको धरानबाट सक्रिय रहेका रोहितकुमार राई, पाँचथरका लवदेव ढुंगाना र मोरङका अर्जुन जुम्नेलीको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षतर्फ कोकिला ढकाल र हिमाकुमारी चेम्जोङको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

त्यसैगरि एकजना महासचिवमा ४ जनाको उम्मेदवारी परेको छ। महासचिव विवेक गौतम उम्मेदवारी गर्दै दोहोरिने पक्षमा रहेका छन्। उनीसँगै पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, श्रीशिशा राई र फिफराज बेघा लिम्बू पनि रहेका छन्।

सचिवतर्फ अविजाल विष्ट, भक्तशेर लिम्बू, कौशल निरौला र देवेन्द्र कार्की रहेका छन्। सचिव समावेशीमा सन्तवीर लामा र सन्तोष यादवको उम्मेदवारी परेको छ।

कोषाध्यक्षमा गणेश साम्पाहाङ, सन्तोष रुचाल र विमल लामिछानेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएकोछ।

त्यसैगरि ५ जना खुल्लातर्फको सदस्य पदका लागि १४ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। तीन जनाको महिला सदस्यमा ७ जना, दलिततर्फ २, जनजातीमा ४, मधेशीतर्फ ५ र अल्पसंख्यकतर्फ ३ जनाको उम्मेद्वारी परेको छ।

सम्बन्धित खबर