कनकाई अनलाईन
नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुन गइरहेको केन्द्रीय समितिको चुनावबाट ३५ जनाले हात झिकेका छन् ।
यस अगाडी ५२ पदको लागि १९९ जनाको आवेदन परेकोमा केही उम्मेदवारहरूले आफ्नो मनोनयन फिर्ता लिएका छन् । यसरी फिर्ता लिनेमा अध्यक्ष पदमा उम्मेदवारी दिएका देखि केन्द्रीय सदस्य समेत छन् ।
चैत १४ गते दिउँसो २ बजेसम्म मनोनयनको अवधि राखिएकोमा केही पदमा मनोनयन परेपछि राजनैतिक दबाबले गर्दा मनोनयन अवधि बेलुका ६ बजेसम्म पुर्याइएको थियो ।
बेलुका ६ बजेसम्म थप गरिएको मनोनयनमा अध्यक्ष पदमा ५ जनाको, वरिष्ठ उपाध्यक्ष पदमा ४ जनाको, महिला उपाध्यक्षमा २ जनाको, समावेशी उपाध्यक्षमा ५ जनाको, महासचिव पदमा ४ जनाको सचिव खुल्लामा ६ जनाको, सचिव आदिवासी जनजातिमा ३ जनाको, सचिव मधेसीमा ४ जनाको सचिव एसोसिएटमा ६ जनाको र कोषाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको थियो ।
आज बेलुका ५ बजेसम्म मनोनयन फिर्ता लिन समय तोकिएकोमा उक्त समय अवधिमा अध्यक्ष पदबाट दिपक पाठकले उम्मेदवारी फिर्ता लिएका छन् भने वरिष्ठ उपाध्यक्षबाट ध्रुब लम्सालले हात झिकेका छन् । त्यस्तै महिला उपाध्यक्षमा यस अगाडी २ जना रहेकोमा कसैले पनि फिर्ता लिएका छैनन् ।
समावेशी उपाध्यक्षबाट रेमबहादुर विश्वकर्मा र शीतलप्रसाद महत्तोले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै महासचिवमा उम्मेदवारी दिएका राजेश मिश्रले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
खुल्ला सचिवबाट कमल पन्त र नकुल अर्यालले उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यस्तै सचिव मधेसीबाट प्रविणकुमार चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै दलित सचिवबाट गणेशकुमार वि।क।, गोपाल वराइली, मान सिंह वि क ले उम्मेदवारी फिर्ता लिएका छन् ।
कोषाध्यक्षबाट मीनबहादुर बम र दिलीप पौडेल पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
अन्तिम उम्मेदवारको नामावली प्रकाशित हुँदा कोही पनि निर्विरोध निर्वाचित भएका छैनन् ।