कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ५ तुलसीवारीमा संचालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको आज भएको खेलमा कनकाई नगरपालिका ११ को फुटबल टिमले मोरङ्गको श्रृजन मिडिया एफसी क्लवलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।
कनकाई ५ स्थित वडा खेलकुद समितिको आयोजनामा भएको प्रतियोगितामा कनकाई नगरपालिकाको टिमले एकपछि अर्को गोलको बर्षा गरेको हो । यो जितसगै कनकाईको टिम फाइनलमा प्रवेश पाएको छ ।
कनकाईका तर्फबाट सनम राई एक्लैले २ गोल गरे । उनी खेलको म्यान अफ द म्याच समेत बने । खेलको २२ औ मिनेटमा निक्कै परबाट हानेको प्रहार मोरङ्गका गोलकिपरले कुनै अनुमान लगाउन नसक्दा कनकाईले अग्रता बनाएको थियो । सनमले त्यसपछि खेलको थप एक गोल गर्दै आफ्नो तर्फबाट २ गोल गरे । कनकाईका लागि अर्का खेलाडी अर्जुन मर्डीले समेत थप २ गोल गरे भने कनकाईका तर्फबाट संदिप रसाइलीले समेत एक गोल थपे । एकतर्फी जस्तो बनेको आजको खेलमा कनकाईका लागि सनम सगै रोहन कार्की, आकाश कुँबर, अरुण श्रेष्ठ लगायातले उत्कृष्ट खेल पस्किएपछि पाहुना टोली निरिह सावित भयो ।
तुलसीवारीको खेल मैदानमा भइरहेको प्रतियोगितामा झापा, मोरङ्ग र इलामका १६ टिमको सहभागिता रहेको कनकाई ५ का खेलकुद विकास समितिका अध्यक्ष गंगा अधिकारीले बताउँनुभयो । प्रतियोगिताको फाइनल खेल पर्सी बिहिवार हुने छ ।