बिर्तामोड , फागुन ११ । झापाको विर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र दमकमा कार्यालय रहेको गौरव कृषि सहकारी संस्थावीच एकीकरण भएको छ ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख कमलबहादुर वस्नेत, जनशक्ति व्यवस्थापन विभाग प्रमुख मिनवहादुर अधिकारी र गौरव कृषि सहकारी संस्थाका अध्यक्ष घनश्याम न्यौपानेलाई प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय इटहरीका रजिष्ट्रार बलराम निरौलाले अन्तिम स्वीकृतिको प्रमाण पत्र प्रदान गरे संगै दुवै सहकारी संस्थाबीच एकीकरण भएको हो ।
यसअघि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय इटहरीमा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराई र गौरव कृषि सहकारी संस्थाका अध्यक्ष घनश्याम न्यौपानेको अध्यक्षतामा भएको दुवै सहकारी संस्थाबीच एकीकरणको अनुशिक्षण कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय इटहरीका रजिष्ट्रार बलराम निरौलाले प्रशिक्षण प्रदान गरेका थिए ।
सरकारले ल्याएको सहकारी एकीकरणको नीति अनुसार दुई सहकारीवीच एकीकरण गरिएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख कमलबहादुर वस्नेतले बताए ।
उनले दुई सहकारीवीच एकीकरण गरेसंगै अब उप्रान्त सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको नामबाट दमकमा सेवाकेन्द्र सञ्चालनमा ल्याएर आफ्ना सदस्यहरुमाझ कारोबार शुरु गरिएको जानकारी दिए ।यो संगै झापाका विभिन्न २२ वटा र मोरङ र इलामका पाँच वटा सदस्य सेवाकेन्द्रबाट शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए ।त्यस्तै गौरव कृषि सहकारी संस्थाका अध्यक्ष घनश्याम न्यौपानेले आफ्नो संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण गर्न पाउँदा आफूहरु गौरवान्दित भएको बताए ।