कुमरखोद,माघ ५।झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपाल बिओपी टाघनडुब्बाको टोलीले अन्दाजी २२० केजी माछा बरामद गरि नष्ट गरेको छ।भारतबाट अवैधरुपमा लुकिछिपी ल्याउदै गरेका माछा बरामद गरि नष्ट गरिएको हो।
गत शनिबार र आइतबार राती नेपाल भारत सिमाबाट अवैधरुपमा नेपाल भित्राइएका माछा जमिनमा खाल्टो खनी नष्ट गरिएको सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानले बताउनु भयो।उहाँका अनुसार भारतमा अत्यधिक बर्ड फ्ल्यु देखिएकाले भारतबाट आयातित पंछी जन्य बस्तु र माछा नेपाल भित्राउन पुर्णरुपमा बन्देज गरिएको छ।नेपाल प्रहरी,जनप्रतिनिधी,स्थानिय,पत्रकार लगायतको उपस्थितीमा सोमबार बिओपी परिसरमा माछा नष्ट गरिएको थियो।
प्रधानले झापा गाउँपालिकाका बजार क्षेत्रमा समेत भारतबाट आयातित पंछीजन्य पदार्थ तथा माछा नबेच्न आग्रह गरिएको बताउनु भयो।भारतमा अत्यधिक बर्ड फ्ल्यु रोगको संक्रमण फैलीएपछी नेपालमा उक्त रोगको संक्रमण फैलन नदिन अहिले जिल्लाका सिमा नाकाहरुमा कडाइ गरिएको पाइएको छ।नेपाल सरकारले समेत उच्च सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ।