पर्बत पोर्तेल
काँकडभिट्टा — पूर्वी नाकाको सीमान्त सहर वर्षौंदेखि अस्पतालविहीन छ । विपन्न परिवारका बिरामीहरू उपचारका लागि मेचीपारि भारततर्फ पुग्छन् । कतिपय बिर्तामोडको महँगो निजी अस्पतालमा भर्ना हुन्छन् ।
सहर बन्न विभिन्न अवयव चाहिन्छ । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र बिजुलीको सुविधा र बजार आदि । सहरको परिभाषामा अब ‘बहुतले भ्यु टावर’ पनि अनिवार्यजस्तै बनेको छ । चोकैपिच्छे जुवाका ठूलठूला खाल, डिस्को र बार छन् । तर, अस्पताल छैन । अस्पताल नभएको यो सीमान्त सहर मेचीनगरमा थपिँदै छ ११ तले भ्यु टावर । करिब साढे ४ करोडको लागतमा बन्ने ३३ मिटर अग्लो भ्यु टावर गत बिहीबार जनप्रतिनिधिहरूको एक टोलीले शिलान्यास गर्यो ।
मेचीनगरका अधिकांश महिला सुत्केरी हुन विगतमा भारत पुग्थे । २०५० को दशकमा या त्यसभन्दा अघि अधिकांश बच्चा नेपालमा हैन, भारतीय अस्पतालमा जन्मिएका छन् । यो क्रम अहिले पनि छ । सुत्केरीका लागि मात्रै हैन, अरू दुःखबिराममा पनि भारतको नक्सलबारी सरकारी अस्पतालको भर थियो । समय फेरियो । सानो सहर ठूलो बन्यो । तर, समस्या २० वर्षअघिको भन्दा खास फरक छैन । सर्वसुलभ स्वास्थ्योपचारको उचित प्रबन्ध अझै छैन । अहिले पनि कि भारतीय अस्पताल, कि त सहरदेखि अलि टाढाको अर्को सहर बिर्तामोड, भद्रपुर धाउनुपर्छ ।
यो सहरमा अस्पताल नै नभएको भने होइन । २०५१ मा कन्काई नर्सिङ होम नामक २५ शय्याको मझौलो अस्पताल थियो । उक्त नर्सिङ होम भारतीय डाक्टरकै भरमा चलेको थियो । भारततिरका अस्पतालले विरोध गरेपछि डाक्टर आउन छाडे । पछि त नेपाल सरकारले पनि भारतीय डाक्टरलाई ‘प्राक्टिस’ मा रोक लगायो । अस्पताल बन्द भयो । त्यसका संस्थापक कृष्णप्रसाद उप्रेतीका अनुसार पूर्वी पहाडका अधिकांश बिरामीलाई उक्त अस्पतालले पारि तर्नबाट रोकेको थियो । उनले भने, ‘अस्पताल बन्द हुँदा सञ्चालकहरूले करिब ६० लाखजति घाटा बेहोर्नुपर्यो ।’
सदरमुकाम भद्रपुर टाढा पर्थ्यो । बाटो गतिलो थिएन । बिर्तामोडमा अस्पताल नै थिएनन् । अहिले झापाका प्रायः सबै सहरमा अत्याधुनिक अस्पताल छन् । यद्यपि बिरामी भारत जाने क्रम उस्तै छ । उप्रेती भन्छन्, ‘सबै भारत जान्छन्, ठगिएर फर्किन्छन् ।’ मेचीनगरमा सुलभ अस्पताल हुने हो भने पारि जाने अवस्था नहुने उनी बताउँछन् । काँकडभिट्टामा दुईवटा मिनी क्यासिनो छ ।
ठूलो क्यासिनोसहितको पाँचतारे होटल पनि चलेको छ । अन्य तारे होटल खुल्ने क्रम जारी छ । डिस्को, बार र क्लबहरू सञ्चालनको तयारीमा छन् । तर, बिरामीको उपचारका लागि एउटा पनि अस्पताल छैन । अस्पताल बनाउनुपर्ने ठाउँमा सरकारले भ्यु टावर बनाइरहेको भन्दै स्थानीयवासी अर्जुन राईले गुनासो गरे, ‘विपन्नले सजिलो उपचार नपाएरै मर्नुपर्ने अवस्था छ ।’ जनप्रतिनिधिको मोह अनुत्पादक क्षेत्रमा देखिनु नराम्रो भएको मेचीनगरका सन्दीप ओलीले बताए ।