Kanakai Online

प्रवासी दुई मजदुरको हर्ष र बिस्मातको कथा स् अन्त्येष्टि गरिएका युवा घर फर्किए, आखिर मृतक को थिए ?


शुक्रवार, माघ २, २०७७ |

नयाँ पत्रिकाबाट
सुनौलो सपना बोकेर हाँस्दै, रमाउँदै वैदेशिक रोजगारीमा जाने कति नेपाली बन्द बाकसमा फर्किन्छन्, यी कथा धेरैपटक लेखिए । तर, यो एउटा यस्तो युवाको कथा हो जसको शव नेपाल आयो र अन्त्येष्टि पनि गरियो । तर, केही महिनापछि उनी जीवितै फर्किए । उनको घरमा आश्चर्यजनक खुसी फर्कियो । तर, अर्को युवा को थिए रु जसको अन्त्येष्टि भयो । दुई विपन्न परिवारको हर्ष र बिस्मातको एउटा भयानक कथा ।

नेपाली पात्रोअनुसार २४ असार ०७२ । साउदी अरबको हुन्डाई कम्पनीका मजदुर सुवास तामाङ जेद्दा सहरको एउटा एटिएमतर्फ जाँदै थिए । मोरङको बेलबारीस्थित लक्ष्मीनगर घरमा छुट्टी मनाएर फेरि काममा फर्किएका उनी तलब लिन जाँदा ट्याक्सीमा थिए, साथमा थिए कम्पनीकै चारजना साथी ।

तर, उनीहरू एटिएम बुथसम्म पुग्न पाएनन् । उनीहरू चढेको ट्याक्सीलाई एउटा ट्रकले ठक्कर दियो । यो भयानक दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भयो । गम्भीर चोटग्रस्त र अचेत अवस्थामा दुईजनालाई हेलिकोप्टरमार्फत अब्दुलअजिज अस्पताल पुर्याइयो ।

अस्पताल पुगेको भोलिपल्ट एकजनाको मृत्यु भयो । अस्पतालले खबर गरेपछि हुन्डाईका प्रतिनिधि अस्पताल पुगे । उनीहरूले भने, यो शव त सुवासको हो ।

अस्पतालले सुवास तामाङको मृत्यु भएको प्रमाणपत्र बनाइदियो । २८ दिनपछि शव नेपाल पठाइयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुवासकी श्रीमतीको करुण क्रन्दन गुञ्जियो । आफन्तले शव र सुवासकी श्रीमतीलाई घर पुर्याए । आफन्तले बेलबारी पुगेर सुवासको अन्त्येष्टि पनि गरे ।

भोजपुरबाट मोरङ बसाइँ सरेको यो परिवारले ऋणधन गरेर एकतले पक्की घर बनाएको थियो । श्रीमान्को अन्त्येष्टि गरेकी सन्तोषी तामाङको भवसागर दुःख भर्खर सुरु भएको थियो ।

दुर्घटनामा परेका तीनजनाको अन्त्येष्टि भयो । एकजना कोमामा थिए । चौथो व्यक्ति अर्थात् बाग्लुङको ढोरपाटन नगरपालिका– ६ अधिकारीचोकका तेजेन्द्र भण्डारी कोमाबाट फर्किएलान्, साथीहरू जेद्दाको अब्दुलअजिज अस्पतालमा कुरिरहेका थिए । गम्भीर घाइतेको अनुहारमा पूरै पट्टि बाँधिएको थियो । तीन महिनासम्म उनी बेहोस नै थिए, तर साथीहरूले माया मारेका थिएनन् ।

उता, तेजेन्द्रको परिवार छोरालाई सञ्चो होस् भनेर प्रार्थना गरेर बसेको थियो । कमाउन बिदेसिएको २५ वर्षको छोरा गम्भीर घाइते भएको सुनेर आमालाई दिनको भोक न रातमा निद्रा भएको थियो । तर, डाक्टरले निको हुन सक्छन् भनेका छन् भनेर वृद्ध आमाले वेलावेला राहतको सास पनि फेर्थिन् ।

तीन महिनापछि जब अब्दुलअजिज अस्पतालमा रहेका बिरामीको अनुहारको पट्टी खोलियो । साथीहरू चकित भए । मोरङका सुवास त जीवित नै रहेछन् । हर्ष मान्ने कि विस्मात्, बाग्लुङका तेजेन्द्रको पनि मृत्यु भएको रहेछ । दुवैलाई गम्भीर चोट लागेकाले साथीहरूकोे पहिचानमा ठूलो भूल भयो ।

साथीहरूका लागि यो भूल मात्र थियो, परिवारका लागि त विपत्ति नै । यता मोरङमा अन्त्येष्टि गरिएका सुवास जीवित थिए । जीवित छन् भनेका बाग्लुङका तेजेन्द्रको अन्त्येष्टि भइसकेको थियो । त्यो पनि अर्कै परिवारबाट ।

एकल महिलाको रूपमा आफ्नो संघर्ष सुरु गरिसकेकी सन्तोषीले एक दिन आफ्ना जीवित श्रीमान्सँग भिडियो कलमा कुरा गर्न पाइन् । ‘म त खुसीले यति रोएँ, मन थाम्नै सकिएन । सपना हो कि विपना भनेर धेरैपटक आफन्तलाई पनि सोधेँ,’ उनी सम्झिन्छिन् ।

यता सन्तोषीको पीडा तेजेन्द्रकी आमातर्फ सरेको थियो । अस्पतालमा उपचाररत छ भनिएको आफ्नो छोराको मृत्यु मात्रै भएको होइन, अर्कै परिवारले अन्त्येष्टि पनि गरिसकेको खबर सुन्दा तेजेन्द्रकी आमा सुर्विता बेहोस भइन् ।

पछि उनी छोराको अन्तिम संस्कार गरिएको ठाउँ खोज्दै मोरङ पनि पुगिन् । ठाउँ हेरिन्, रोइन् । अरू उपाय उनीसँग केही पनि थिएन ।

घर फर्किएपछि उनी छोराको वियोगमा धित मारेर रुन पनि पाइनन् । किनकि तेजेन्द्रलाई विदेश पठाउँदा लिएको ऋणले उनलाई पछ्याउन थाल्यो । कसैले भनिदियो, ‘वैदेशिक रोजगारीमा गएका व्यक्तिको मृत्यु भएमा बोर्डबाट क्षतिपूर्ति रकम आउँछ ।’ उनले यसका लागि प्रयास पनि सुरु गरिन् । तर, थाहा भयो, यो रकम त सुवासको परिवारले बुझिसकेको रहेछ । सुवासको मृत्यु भएको प्रमाणपत्र आएकाले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले उनको परिवारको नाममा साढे नौ लाख रुपैयाँ हस्तान्तरण गरिसकेको रहेछ । सुवास कोमाबाट फर्कँदा उनको परिवारले राहत रकमबाट ऋण पनि तिरिसकेको थियो ।

कागजी प्रक्रियामा सुवासको मृत्यु भइसक्यो । उनी जन्मिएको तत्कालीन कुदाकाउले गाविसमा ०७२ साउन ६ गते मृत्यु दर्ता भयो । उनको मृत्युको निक्र्योल नै भइसकेपछि परिवारले बिमा दाबी गर्यो ।

बिमाबापत साढे नौ लाख पाएको श्रीमती सन्तोषी बताउँछिन् । तर, त्यो रकम ऋण तिर्दै सकिएको उनी बताउँछिन् । घर बनाएर विदेश गएको एक महिना नबित्दै उनको दुर्घटना भयो । ‘ऋण गरेर घर बनाएका थियौँ । उहाँको दुर्घटना भएपछि कमाउने कोही थिएन । आएको पैसाले ऋण तिर्यौँ,’ सन्तोषी भन्छिन्, ‘अन्तिम संस्कार गर्दा लामा पढाउनुपर्छ । अन्तिम संस्कार गर्दै तीन लाखजति सकियो । आएको नौ लाख यसरी नै सकियो ।’

तर, सुवासको परिवारमा पनि पूर्ण खुसी कहाँ छ र रु उनी दुर्घटनाले थिलोथिलो भएको ज्यान लिएर आइपुगेका छन् । उनको ज्यान जीवित छ, तर शारीरिक रूपमा उनी धेरै कमजोर छन् ।

नयाँ पत्रिका टिम बेलबारी लक्ष्मीनगरस्थित घरमा पुग्दा सुवास कुरा गरौँ कि नगरौँ भन्ने अन्योलमा थिए । पछि उनले भने, ‘खासमा तेजेन्द्रले नै ट्याक्सी चलाएको थियो, दुर्घटनामा अरू दुईजना र तेजेन्द्रको मृत्यु भयो । तर, कम्पनीले गम्भीर लापरबाही ग¥यो । दूतावासले पनि चासो दिएन ।’

शव राम्ररी नहेरेको भनेर उनी परिवारसँग पनि दुःखेसो गर्छन् । तर, श्रीमान्को मृत्यु भएको सुनेदेखि नै श्रीमती बेहोसजस्तै थिइन् । त्यसैले उनले राम्ररी शव हेर्न पनि सकिनन् । उता शव चोटग्रस्त भएकाले आफन्तले पनि चिन्न सकेनन् ।

अस्पतालले सुवासको मृत्युको प्रमाणपत्र बनाइदिएकाले शवसँगै उनको मोबाइल, झोला र अन्य व्यक्तिगत सामान पनि आएको थियो । ‘एक त म होसमा थिइनँ । अर्को कुरा, बाकसमा सुवास तामाङ नाम थियो । उहाँकै मोबाइल, झोला र लुगाफाटा थिए । अब अरू कोही होला भनेर कसरी सोच्ने रु’ श्रीमती सन्तोषी भन्छिन्, ‘फेरि लास क्षतविक्षत थियो । त्यसैले कसैले पनि ओल्टाइपल्टाइ गरेन ।’

होसमा आएपछि पनि सुवास ६ महिनासम्म अस्पतालमै बसे । तर, कम्पनीले खास सहयोग नगरेको उनी बताउँछन् । ‘जम्मा खान दिनेबाहेक केही पनि गरेन । घर जान्छु भन्दा पनि कागजमा मरिसकेको छस् भन्यो । मरेको मान्छे कसरी जाने भनेर दुःख दिए, हरेक ठाउँमा हारगुहार गरेपछि मात्र घर आउन पाएँ,’ उनी भन्छन् ।

टाउकोमा गम्भीर चोट लागेकाले सुवास धेरै पुराना कुरा बिर्सन्छन् । ‘मलाई त फिल्मजस्तो लाग्छ । फिल्ममा पनि दुर्घटना भएर बेहोस भएपछि होसमा आउँदा पुराना कुरा बिर्सिएको हुन्छ नि १ मलाई पनि कहिलेकाहीँ त्यस्तै हुन्छ,’ उनी भन्छन्, ‘घरिघरि सम्झन्छु– म यत्रो दुर्घटनाबाट कसरी बाँचेँ रु अनि म बाँचे पनि तीनजना नेपाली मरे भनेर दुःख पनि लाग्छ ।’

बाग्लुङका तेजेन्द्रलाई भने उनले चिन्न सकेनन् । ‘खासमा ऊ को थियो रु’ उनी घोरिन्छन्, ‘मैले त्यसभन्दा अघि भेटेको थिइनँ, एटिएममा जान ट्याक्सी बोलाएका थियौँ । उसको ट्याक्सी रहेछ । तर, ती मान्छेको बारेमा मलाई केही थाहा थिएन ।’
आजको नयाँ पत्रिकामा खबर छ ।

सम्बन्धित खबर