केशव राज भण्डारी, झापा । झापाको विर्तामोडस्थित कृषिथोक वजार ब्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ । विगत एक दशकदेखि नेतृत्व विहिन कृषिथोकको नेतृत्व चयनका लागि शनिवार सम्पन्न निर्वाचनवाट आगामी ३ वर्षे कार्यकालका लागि कमल पौडेलको नेतृत्वमा ९ सदस्यीय कृषिथोक वजार ब्यवस्थापन समिति चयन भएको छ ।
कृषि उपज विक्री वितरणका लागि तय गरिएको वजार भित्र कृषि उपज मात्र हैन अन्य सामाग्रीको ब्यापार गर्ने ब्यापारीहरुले अड्डा जमाएका छन । सरसफाइ देखि कृषकले उत्पादन गरेको उपज थोक विक्रीका निमित्त निर्माण गरिएको कृषक चौतारीमा समेत राम्रै चलखेल हुने गरेको छ । कृषिथोक उपज वजार ब्यवस्थापन समितीको चुनाव सोसियोमेट्रिक पद्धतीमा सम्पन्न भएको थियो । जसमा मतदाताले आफु वाहेक जो कोहिलाई भोट हाल्न पाउने ब्यवस्था हुन्छ । पुष २४ गते पहिलो चरण कृषक तर्फको चुनाव सम्पन्न भएको थियो । जसमा झापाका ८ वटा स्थानिय तहका ५–५ जना गरी कुल ४० जना मतदाता रहेका थिए , जसमा ३९ मत खसेको मध्ये २ मत वदर भएको थियो । उक्त चुनाव वाट ३ जना कृषक प्रतिनिधि छनौट भएका थिए जसमा विर्तामोडका कमल पौडेल, कनकाई नगरपालिकाका हरि सिलवाल र अर्जुनधाराकी वृन्दा लुइटेल विजयी भए ।
ब्यापारी तर्फ २५६ मत मध्ये २४३ मत खसेको मध्ये, ४ मत वदर भएको थियो । ब्यापारि तर्फको दोश्रो चरणको चुनाव वाट ब्यापारी प्रतिनिधी खगेन्द्र महताले ९५ मत, ज्योति चुडाल (पार्वती) १४१, धर्म प्रसाद वराल, ८६ मत ल्याएर छनौट भएका थिए ।निर्वाचित प्रतिनिधी मध्ये वाट सञ्चालक समितीको अध्यक्ष हुने ब्यवस्था अनुरुप सहमती अनुसार कमल पौडेल सर्वसहमत अध्यक्ष पदमा निर्वाचित भए । वजार सञ्चालक समितिमा कृषक र ब्यापारीतर्फका ६ जना, सम्वन्धित वडाका अध्यक्ष पदेन सदस्य त्यसैगरि कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ १ जना पदेन सदस्य र जिल्ला समन्वय समिति वाट मनोनित उपभोक्तातर्फवाट १ जना सदस्य गरी कुल ९ सदस्यीय सञ्चालक समिती रहने प्रमुख निर्वाचन अधिकृत विरेन्द्र पराजुलीले जानकारी दिए।