Kanakai Online

बालमैत्री नगर घोषणाको अन्तिम चरणमा भद्रपुर


आइतवार, पौष ५, २०७७ |

भद्रपुर,५ -पौष नेपालको पूरानो नगरपालिकाको इतिहास बोकेको भद्रपुर नगरपालिका प्रदेश १ को पहिलो बालमैत्री नगरका रूपमा पौष ७ गते घोषित हुने भएको छ । भद्रपुर नगरपालिकाले पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार पौष ७ गते बालमैत्री नगरका रूपमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले घोषणा गर्ने भएको हो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले भद्रपुर नगरलाई प्रदेश १ को पहिलो बालमैत्री नगरका रूपमा घोषणा गर्ने सम्पूर्ण तयारी पूरा भएको उपप्रमुख चन्द्रमाया श्रेष्ठले जानकारी दिइन् । २०७४ मंसीरदेखि बालमैत्रीका लागि नेपाल सरकारको मापदण्ड अनुसारका कार्य अगाडि बढाइ रहेको नगरले तय भएका ४२ वटा सूचक पूरा गरेको पत्र जिल्ला समन्वय समिति झापाले दिएपछि प्रदेश १ सरकार घोषणाको चरणमा पुगेको उपप्रमुख श्रेष्ठको भनाइ छ । उपप्रमुख चन्द्रमाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोकल पर्सन दिपक पाण्डेले बालमैत्री अभियानका क्रममा हालसम्म गरिएका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सामाजिक विकाश शाखाकी प्रमुख जीवनकला राउतले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृतले गरेका थिए । यस घोषणासंगै झापाको सदरमुकाम समेत रहेको भद्रपुर नेपालको पाँचौं बालमैत्री स्थानीय शासन भएको नगर सरकार हुने छ ।

सम्बन्धित खबर