भद्रपुर,२८ मंसिर-भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भौतिक पुर्वाधार तथा
निर्माण मन्त्री वसन्तकुमार नेम्बाङलाई भद्रपुर क्षेत्रमा पर्ने मुख्य
सडकको स्तरोन्नतिका लागि आग्रह गरेका छन् ।
शनिबार अपरान्ह झापा आएका मन्त्री नेम्बाङलाई भद्रपुर विमानस्थलमा
स्वागत गर्दै नगरप्रमुख श्रेष्ठले झापाकै सदरमुकाम रहेको भद्रपुरको
चन्द्रगढी भैरवचोकबाट मेची पूलसम्मको सडकखण्ड चार लेनमा स्तरोन्नति
गरिदिन आग्रह गरेका थिए । मेची पूल निर्माण भइसकेको र सो पूलबाट
अयात–निर्यात पनि बढ्दै गएकोले उक्त सडकखण्डको आवश्यकता र महत्व
पनि बढेकाले जतिसक्दो चाँडो स्तरोन्नति गरिदिन आग्रह गरिएको नगरप्रमुख
श्रेष्ठले जानकारी दिए ।
मन्त्री नेम्बाङलाई लिखित प्रस्ताव पेश गरिएको
नगरपालिकाकी सञ्चार संयोजक गंगा बरालले जानकारी दिइन् ।
त्यस्तै भद्रपुर ७ स्थित वीरेन्द्र माबिमा योग तथा आयुर्वेदको नमुना बिद्यालय
कार्यक्रम सञ्चालनका लागि आवश्यक पुर्वाधार निर्माण गरिदिन पनि मन्त्री
नेम्बाङलाई आग्रह गरिएको बताइएकको छ । मन्त्री नेम्बाङको स्वागतार्थ
विमानस्थलमा प्रतिनिधिसभा सांसद एलपी साँवा, नेकपा भद्रपुर नगर अध्यक्ष
शिबकुमार राजभण्डारी, नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय
महासचिव सुवास भट्टराई, होमबहादुर थापासमेतको उपस्थिति थियो ।