बिर्तामोड ,कात्तिक २९ । नेपाली साहित्यका विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती शुक्रबार मनाइएको छ ।
साहित्य चौतारी झापाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्तीको अवसरमा झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजारमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमास्थलमा माल्यार्पण गरी महाकवि देवकोटाप्रति श्रद्धा प्रकट गरेको हो ।
साहित्य चौतारी झापाका कोषाध्यक्ष भवानीप्रसाद गौतम , बरिष्ठ सल्लाहकार कृष्ण पौडेल , संस्थापक सल्लाहकार कृष्ण धरावासी , साहित्य चौतारी झापाका सम्मानित व्यक्तित्व कुमार भट्टराई , गायक हरि काफ्ले लगायतले महाकवि देवकोटाको प्रतिमास्थलमा माल्यार्पण गरी महाकवि देवकोटाप्रति श्रद्धा प्रकट गरेका थिए ।
सोही कार्यक्रममा शनिश्चरे माविका प्रध्यानाध्यापक चेतामणि खनाल , अर्जुनधारा नगरपालिका शिक्षक महासंघका अध्यक्ष पुण्य सुवेदी , ज्येष्ठ नागरिक मिलन समाजका पदाधिकारी लगायतले समेत महाकवि देवकोटाको प्रतिमास्थलमा माल्यार्पण गरी महाकवि देवकोटाप्रति श्रद्धा प्रकट गरेका थिए ।
साहित्य चौतारी झापाले साहित्य , कला , संगीत र संस्कृतिको संरक्षण , सम्र्वद्धन गर्दै आएको र हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती विशेष कार्यक्रम गरी मनाइँदै आएपनि यस वर्ष विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण महाकवि देवकोटाको प्रतिमास्थलमा माल्यार्पण गरी महाकवि देवकोटाप्रति श्रद्धा प्रकट गरिएको साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए ।