कनकाई अनलाईन
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकात्ता नाईट राइडर्सले संदिप लामिछानेको टिम दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गरेको छ।
युएईको अबुधाविमा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको कोलकात्ताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९४ रन बनाएको थियो।
कोलकात्ताका नितिश राना र सुनिल नारिनले अर्धशतक बनाए। नितिशले ५३ बलमा ५१ रन बनाए भने सुनिलले ३२ बलमा ६४ रन बनाए। यस्तै कप्तान इयान मोर्गनले १७ र राहुल त्रिपाठीले १३ रन बनाए।
१ सय ९५ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३५ रन मात्रै बनाउन सक्यो। दिल्लीका लागि कप्तान श्रेयश यय्यरले ४७ रन, ऋषभ पन्तले २७ रन र रविचन्द्रन अश्विनले १४ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।
दिल्लीमाथि जित निकाल्न कोलकात्ताका वरुण चक्रवर्तीले पाँच, प्याट कमिन्सले तीन र लोकी फर्गुसनले एक विकेट लिए।