कनकाई अनलाइन।गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं मध्यपूर्व क्षेत्रीय भेलाको तयारी पुरा भएको एनआरएनए मध्यपूर्व संयोजक प्रविण गुरुङले जानकारी दिएका छन ।
बुधबार ग्लोबल नेप्लिज न्युज नेटवर्क (जिएनएनएन) ले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत संयोजक गुरुङले जानकारी गराएका हुन । भेला अक्टोबर १६ र १७ गरि दुई दिनसम्म चल्नेछ ।
पत्रकार सम्मेलनमा एनआरएनए आइसीसी सचिव आरके शर्माले मध्यपूर्वका नेपालीहरुमा समस्या होइन संभावना र ज्ञान, सीप पनि रहेकाले सोही अनुरुपको खाका तयार गरिनुपर्ने तर्फ औंल्याए । उनले भने, ‘हामीले पठाएको रेमिट्यान्स राष्ट्र निर्माणमा लगाउन इच्छुक छौ । भौतिक निर्माणका लागि लगानी गर्न हामी तयार छौ । त्यसैले हामी संभावना पहिचना गरौं ।’
एनआरएनएका सल्लाहकार टीबी कार्कीले एनआरएनएको उद्देश्य अनुरुप यतिबेला विगतको तुलनामा मुद्दाहरु फेरिएकाले पहिलेका घोषणा गरेका एजेन्डा र कोभिडपछिको अवस्थाका बारेमा विश्लेषण गरेर अघि बढ्नुपर्ने औंल्याए । उनले भने, ‘नेपाल फर्किएका नेपालीहरुका बारेमा सरकार र एनआरएनएको सहकार्य गरेर कसरी अघि बढने भन्ने विषयमा बहस हुनु जरुरी छ ।’
एनआरएनए प्रवक्ता डिबी क्षेत्रीले एनआरएको आगामी कार्यदिशा र स्मार्ट एनआरएनए कस्तो बनाउने भन्ने विषयमा भेलामा ब्यापक छलफल हुनुपर्ने बताए । ‘मध्यपूर्वका देशमा रोजगारीका पुगेका नेपालीहरुलाई विचरा र मध्यम बर्गीय भन्नुभन्दा पनि स्वावलम्वी नेपाली भनेर सम्बोधन गर्नु जरुरी छ’, उनले भने, ‘हाम्रो सीप, पूँजी र वर्गलाई नीति निर्माण तहमा पु-याउन भेलाले घनीभूत छलफल हुनु जरुरी छ ।’
एनआरएनए कतारका अध्यक्ष मोहम्मद मोक्तदा मुसलमानले मध्यपूर्वमा सपना बोकेर आउने नेपालीहरुको सीपलाई कसरी ब्यवस्थापन गर्नेभन्ने बारेमा ब्यापक बहस हुनुपर्ने बताए । भेलाबाट निस्केको निष्कर्षलाई नेपाल सरकारसँग पुराउनु पर्ने र सीप सिकेर नेपाल पुगेकालाई स्वरोजगारको ब्यवस्था गर्न सरकारलाई दबाब दिनुपर्ने बताए ।
एनआरएनए बहराइनकी अध्यक्ष लक्ष्मी गिरिले चोरबाटो भएर खाडी मुलुकमा नेपाली चेलीहरुलाई ल्याउने र घरेलु हिंसा गर्नेक्रमलाई रोक्नेगरी खाका तयार गर्नुपर्ने सुझाव दिइन् । कोभिडका कारण रोजगारी गुमाएर स्वदेश पुगेका नेपालीहरुलाई स्वरोजगारको ब्यवस्था गर्न दबाब सिर्जना गर्नुपर्ने बताइन् ।
कार्यक्रममा धारणा राख्ने अधिकांश वक्ताहरुले कोभिडको महामारीमा नेपाल सरकारको भूमिका जिम्मेवार नभएको, नेपालीहरुको समयमा उद्धार गर्न सरकार चुकेको र उदासीन बनेको बताएका थिए । यस्ता विषयमा आगामी भेलाले गम्भीर छलफल गर्नुपर्ने बताउदैकोभिडका कारण मध्यपूर्वबाट झण्डै एक लाखको हाराहारीमा नेपालीहरु फर्किएकाले उनीहरुको व्यवस्थापन गर्न सरकारलाई दबाब दिनेगरी खाका तयार गर्नुपर्ने सुझाव दिइएका थिए ।
पत्रकार सम्मेलनमा उप संयोजकद्वय मनोज गोर्खाली तथा राजेन्द्र अर्याल (जोन) ले मध्यपूर्वका नेपालीहरुका समस्या र संभावना, स्वदेश फर्किएका नेपालीहरुले सिकेको सीपलाई सदुपयोग गर्न सोही अनुरुपको खाका भेलाले तयार पार्ने बताएका थिए ।
एनआरएनएको राष्ट्रिय समन्वय परिषद् कतारको संयोजनमा आयोजना हुन लागेको भर्चुअल भेलामार्फत हुनलागेको मध्यपूर्व उक्त भेलामा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, श्रममन्त्री रामेश्वर राय यादव साथै एनआरएनएका पदाधिकारीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।