कनकाई अनलाईन
निर्माणाधिन सडकको दाया बायाँ रहेको विजुली , टेलिफोनको पोल र खानेपानीको पाइप नहटाउँदा कनकाई नगरपालिका सुरुङ्गा देखि नेपाल भारत सिमाको झापा गाउँपालिका कुमरखोद जोड्ने २२ किलोमिटर सडकको निर्माण कार्यमा ढिलाई भइरहेको छ ।
पूर्वाधार विकास कार्यालय झापाबाट ठेक्का लागि नेपालका दुई निर्माण कम्पनीहरु कनकाई आशिस जेभी काठमाण्डौबाट ४७ करोड १ लाख, २२ हजार ५ सय र चुवी रोषन मैनाचुली जेभी काठमाण्डौले ५७ करोड रुपैँयामा उक्त २४ किलोमिटर सडकको कालोपत्रे बाटोको ठेक्का पारेको हो ।
गत २०७६ साल भदौ १६ गतेबाट आयोजना सुरु गरि भदौ २६ गतेबाट आयोजनाको काम सुरु गरिएपनि सडकको दुबै किनारामा रहेका बिजुलीका पोल, खानेपानीको पाइप , केवलका तार र सडकको सुरुमै रहेका केहि व्याक्तिका घरहरु नहटाइदिदा सडकको सुरु चरणकै नाला खन्ने काममा समेत अवरोध भइरहेको ठेकेदार कम्पनीका इन्जिनियर बिदुर मैनालीले बताउँनुभयो । ४ बर्षमा सक्नेगरि पाएको ठेक्का भएपनि सडकको दुबैतिरका अवरोध नहटाउँदा सडकको सुरुवाती काम ड्रेनको काम समेत सुरु गर्न नपाएको मैनालीले गुनासो गर्नुभयो । यता सडक निर्माण समितिका उपभोक्ता समितिका अध्यक्ष गोकर्णप्रसाद ओझाले बिजुलीका पोल, खानेपानीका पाइपहरु ह्टाएर काम गर्ने वातावरण मिलाउनका लागि धेरैपटक कोसिस गरेपनि संम्भव नभएको बताउँनुभयो । पोल हटाउनका लागि १५ पटकसम्म उपभोक्ता समिति, ठेकेदार कम्पनी र बिद्युत र नेपाल टेलिकमका कर्मचारीले पोल गर्नमात्रै लगाएको तर पोल नहटाइदिएको ओझाले गुनासो गर्नुभयो । यता नेपाल बिद्युत प्राधिकरण अनारमनी साखाका प्रमुख विरेन्द्रप्रसाद झाले सडक निर्माणको दुबै किनारामा भएको विजुलीका पोलहरु ह्टाउन ढिलाइभएको स्वीकार गर्दै बजेट, कोभिड लगायातका विविध कारणले पोल हटाउनमा ढिलाइभएको भन्दै केहिदिनभित्रै स्थानीय सरकार लगायातको समन्वयमा सबै पोलहरु ह्टाइने बताउँनुभयो ।
तर निर्माण कम्पनीले भने सडक दुबै किनाराका पोल १ बर्षसम्ममा पनि प्राधिकरणले नहटाउँदा आयोजनाको काम कार्वाहीमानै ढिलाई भएको गुनासो गरेको छ ।
यता लामो समयसम्म पनि सडक नबनी धुलाम्बे हुदा बाटो छेउमा रहेका पसलहरुमा धुलो र हिलोका कारण ग्राहकहरु नआउदा कोभिडबाट थला परेका व्यापारीहरु थप मारमा परेको स्थानीय व्यावसायी गणेश थापाले बताउँनुभयो ।
झापाको पुरानो सदरमुकाम जाने उक्त अमरपथ सडकमार्ग निर्माणाधिन अवस्थामा रहदा अव्याबस्थित बाटोको कारण हिलो र धुलोका कारण कनकाई नगरपालिका र झापा गाउँपालिकाका हज्जारौ स्थानीय थप मर्कामा परेको स्थानीयको भनाई छ ।
यसवारेमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सडकका विविध समस्यकाका कारण सडकमा रहेका संरचना हटाउन समस्या भएपनि अवका दिनमा चाडै संरचना हटाइने प्रतिवद्धता जनाउँनुभयो ।
फोटो ः निर्माणाधिन सडक किनाराको बिचमा रहेका बिजुलीका पोलहरु तस्बीर ः लीलाराज झापाली